काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक अभियन्ता र जेनजी नेताहरुसँग परामर्श गर्दै आफ्नो राजनीतिक सक्रियता बढाएका हुन् ।
बालेनले यसअघि सोमबार रास्वपा सभापति रवि लामिछानेसँग गरेको भेटपछि आफ्नो सक्रियता बढाएका हुन् । लामिछानेको भेटमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने विषयमा छलफल भएको दाबी गरिएपनि लामिछानेले आफुहरुको छलफल त्यहाँसम्म नपुगेको बताएका थिए । स्रोतका अनुसार लामिछानेले बालेनलाई स्पष्ट रुपमा कुनै किसिम प्रस्ताव नगरेको बताइएको छ ।
लामिछानेबाट स्पष्ट प्रस्ताव नपाएपछि समयको चापलाई मध्यनजर गर्दै बालेन आफ्नै किसिमले अगाडी बढ्न लागेको बुझिएको छ । यस क्रममा उनले बुधबार पनि काँग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाहीसहित दर्जनभर स्वतन्त्र व्यक्ति र नेताहरुसँग छलफल गरेको पाइएको छ ।
यसैबीच आज पनि बालेनले उर्जा मन्त्री कुलमान घिसिङ, काँग्रेस नेता सुनिल शर्मा, जेनजी अभियन्ता सुदन गुरुङ, सागर ढकालसहितसँग छलफल गर्दैछन् भने रास्वपा सभापति लामिछानेसँग आज फेरी छलफल हुने बताइएको छ । बालेनले रास्वपाले ठोस र स्पष्ट प्रस्ताव नदिएमा आफ्नै किसिमले वैकल्पिक शक्ति निर्माण गरेर अगाडी बढ्ने तयारी गरेका छन् ।
FACEBOOK COMMENTS