काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ भक्तपुरको अरिपाटीस्थिति नेपाली सैनिक प्रतिष्ठानमा पुगेका छन् ।
अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् । करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई उनले बधाई तथा शुभकामना पनि व्यक्त गरे ।
प्रधानमन्त्री साहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए । फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास उनले व्यक्त गरेका छन् ।
सो समारोहमा प्रधानमन्त्री साहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्दै पुरस्कृत गरे । प्रधानमन्त्री साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।
