काठमाडौँ – काठमाडौँको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय बासिन्दाले शनिवार साँझ प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन्, नाराबाजीको क्रममा मेयर शाहको पुत्ला पनि जलाएका छन्।
‘डोजर आतङ्क बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नाराबाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय बासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।
महानगरपालिकाले गत शुक्रवार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय बासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायामीलगायत पुगेका थिए । सार्वजनिक मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौँ महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।
FACEBOOK COMMENTS