काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकिएको काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको तलब निकासा भएको छ ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीले पाउन बाँकी रहेको तीन महिनादेखि ६ महिनासम्मको तलब पाएका हुन् ।
महानगरले १ अर्ब १३ करोड रुपैयाँ तलब निकासा गरी जनप्रतिनिधि तथा कर्मचारीहरूको बैंक खातामा जम्मा गरिदिएको हो ।
काठमाडौं टावरको नक्सापास विवादमा मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई तीन महिनाअघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काम गर्ने वातावरण मिलाइदिन आग्रह गरे पनि मेयर बालेनले त्यसलाई अस्वीकार गर्दा महानगर तीन महिना प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो ।
उपमेयर सुनिता डङ्गोलको अभिभावकीय नेतृत्वमा कर्मचारी र जनप्रतिनिधिले चैत २१ गते गुरागाईंलाई महानगर प्रहरीको अवरोधका बीच कार्यालय भित्र्याएर हाजिर गराएसँगै कर्मचारीहरूको तलब निकासा भएको हो । गुरागाईं तीन महिना १४ दिनपछि कार्यालय हाजिर हुन पाएका थिए ।
FACEBOOK COMMENTS