काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले सोमबार राति एउटा सनसनीपूर्ण अभिव्यक्ति सार्वजनिक गरे । सामाजिक सञ्जाल फेसबुकमा आएको त्यो अभिव्यक्तिको मुख्य सार थियो, अहिलेका सत्ता सञ्चालक र गणतन्त्रवादी नेताहरूलाई टुकुचा खोलामा गाड्दिने ।
सुन्दा अत्यन्तै असहिष्णुता जस्तो लाग्ने उनको स्टाटसको अर्को मर्म भनेको काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि तनाखा नपाउनु हो । किनभने काठमाडौं महानगरपालिकामा अहिले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ, महानगरका लागि खटिइ आएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काम गर्ने वातावरण पाएका छैनन्, त्यसैले लोकप्रिय भनिँदै आएको बालेन नेतृत्वको देशकै ठूलो महानगर यतिखेर अस्तव्यस्त बनेको छ । जहाँका कर्मचारीले महिनौँदेखि तनाखा पाएका छैनन् भने विकास निर्माणका काम अस्रल्ल छन् । महानगर अस्तव्यस्त हुनु स्वयम् बालेनको एकोहोरो हठ पनि प्रमुख कारणका रूपमा चर्चा हुँदै आएको छ ।
आफ्ना कर्मचारीले तनाखा खान नपाएको झोँकमा बालेनले सोमबार राति १० बजेपछि सङ्घीय शासकहरू र गणतन्त्रवादी नेताहरूलाई लक्षित गरी सो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । सङ्घीय शासक र गणतन्त्रवादी नेताहरूमाथिको धम्कीपूर्ण शैलीको यो अभिव्यक्तिले उनका समर्थकहरू खुसी भएका छन् भने अहिलेका शासकहरू, गणतन्त्रवादी नेताहरू र तिनका कार्यकर्ताहरूमा असाध्यै आक्रोश बढेको छ ।
त्यसो त अत्यन्तै अराजक, अपरिपक्व र असहिष्णु पाराको स्ट्याटस (अभिव्यक्ति) लेखेर नेतालाई गाली गर्नेबाहेक गतिला काम केही गर्न नसकेको आरोप खेप्दै आएका बालेन उनका विरोधीहरूको नजरमा ‘गँजेडी’, ‘ट्यापे’, ‘ट्वाकेन्द्र’को उपमाले पनि परिचित छन् । त्यसमाथि रातिको समयमा आउने उनको अधिकांश अभिव्यक्तिहरू त्यही ‘गँजेडी’, ‘ट्यापे’, ‘ट्वाकेन्द्र’को उपज भएको मान्न गाह्रो पर्दैन ।
उनले आफू जे जस्तो अवस्थामा हुँदा होस् वा नहुँदा अभिव्यक्त गर्ने धारणा, विचार वा सूचनाहरूले काठमाडौं महानगरभित्र मात्र नभइ देशव्यापीरूपमा ठूलो अर्थ राख्ने गरेको छ । यसरी अर्थ राख्ने व्यक्तिको बोल्ने बोली, लेख्ने शब्दहरूको शैली र ढङ्ग सभ्य भइदिएको भए अत्यन्तै राम्रो हुन्थ्यो भन्ने आम मानिसको अपेक्षा छ । तर, बालेन यस्ता हठी व्यक्ति हुन् जसले समाजको भावनाहरूको मतलव गर्दैनन्, आफूलाई जे लाग्छ त्यो लेख्ने, बोल्ने र गर्ने गर्दै आएका छन् ।
०००
त्यसैको पछिल्लो उदाहरण हो सोमबार मध्यराति उनले लेखेको ‘फेसबुक स्टाटस’ । बुधबार दिउँसोसम्म उनको त्यो असभ्य खालको स्टाटसलाई करिब ८४ हजार जनाले हेर्नुका साथै २९ हजार पटक साझा गरिएको छ । त्यस्तै, लाइक, लभ, केयर, हाहा, वाउ, स्याड, याङ्ग्री गरी साढे चार लाख भन्दा बढी रियाक्ट छ । त्यति धेरै भ्युज पाएको उनको स्टाटस यस्तो छ–
‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरूको के के तन्त्र हो !!’
प्रस्तुत स्टाटसले कर्मचारीको तलबको चिन्ता र शासक अनि नेतालाई टुकुचामा गाड्दिने मात्र कुरा गरेको छैन, मुलुकको व्यवस्थामाथि पनि प्रश्न उठाएको छ । उनको यो स्टाटसको अर्को भाव छ– नेतालाई टुकुचामा गाडेर ‘तन्त्र’ फेर्ने । ‘को कसले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछि हेरौँला तिमीहरूको के–के तन्त्र हो !!’ यो भनाइले त्यही नै सङ्केत गरेको स्पष्ट । गणतन्त्र मासेर फेरि राजसंस्था ब्युँताउने प्रयत्नहरूबारे चर्चा भइरहेको बेलामा उनको यो भनाइलाई अर्थपूर्ण रूपमा लिन पनि सकिन्छ । त्यहाँ लेखिएको भाषा, शैली, शब्द चयन र व्याकरणका कुराबारे चर्चा गरिसाध्यै छैन ।
सरकारको दम्भका कारण कर्मचारीले तलब नपाएको उल्लेख गरे पनि कुन सरकार भनेर उनले खुलाएका छैनन् । किनकी देशमा स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहको सरकार छ । त्यसमध्ये सबैभन्दा शक्तिशाली स्थानीय तहको सरकारको नेतृत्वमा उनी स्वमय् विराजमान छन् । यद्यपि, उनको कार्यालयमा प्रशासकीय अधिकृत पठाउने काम सङ्घीय सरकारको हो । त्यसर्थ उनको आवेग सङ्घ सरकारप्रति हो भन्ने कुरा स्पष्ट हुन्छ ।
उनले यो मात्र होइन अन्य धेरै विषय र प्रसङ्गहरूमा यस्तै ‘अराजक’ र ‘असहिष्णु’ प्रकृतिका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा लेखिरहन्छन् । किनकी मुलधारका सञ्चार माध्यमहरूमा उनी जाँदैनन्, जनताका गुनासो सुन्ने ताकत उनमा छैन । त्यसैले अहिलेसम्म कुनै एउटा टीभी, पत्रिका वा मुलधारका अनलाइनहरूमा उनको अन्तर्वार्ता वा दृष्टिकोणहरू पढ्न, हेर्न र सुन्न पाइएको छैन । जनताको प्रश्न सोधिने ठाउँबाट ‘स्किप’ हुँदै उनी लोकप्रियताका लागि फेसबुकमा प्रायः जथाभावी लेखिरहन्छन् । उनको धारणामाथि प्रतिक्रिया जनाउनेहरू पनि उनैद्वारा परिचालित हुन् भन्ने आरोप उनीमाथि लाग्दै आएको छ ।
उनको पछिल्लो स्टाटसबारे पत्रकार मोहन बास्तोलाले खुलेर असहमति जनाएका छन् । बालेनले उठाएको सवालबारे बास्तोलाले आफ्नो फेसबुकमा लेखेका छन्–
विद्यासुन्दर शाक्यले आफ्नो पाँच वर्षे कार्यकाल आफ्नै निवास लगनटोलमा बसेर बागदरवार धाएर मेयर चलाएको इतिहास ज्युँदो छ । तीन वर्षमा ठुटे कपाल झ्याप्ले बनाउने र अराजक स्ट्याटस लेखेर नेतालाई गाली गर्ने बाहेक गतिला काम केही गर्न नसकेका काठमाडौंका ट्वाँकेन्द्र मेयर जो लाजिम्पाटको क्वाटरमा बसेका छन् अनि उनको निवासमा व्यायामशाला निर्माणका लागि रू. १० लाख बजेट विनियोजन भएको छ । क्वाटरलाई व्यायम गर्दै ट्वाँकेहरूको अखडा बनाएर रामरउस गर्ने सोँचका तिनै मेयर हामीले तलव खान नपाए नेतालाई टुकुचामा लगेर गाड्छु भन्छन् अनि केहीचाहिँ ती ट्वाँकेन्द्रका अराजक स्ट्याटस हेरेर धरान (आराले काठ चिर्ने ठाउँ) मा छिरेको बाँदरको अण्डकोष च्यापिँदा चिच्याए जस्तो चिच्याउँदै सरकार खराब भनेर उफ्रिन्छन् । यस्तो उफ्राइलाई यथार्थ ठानेर भावुक नबनौं ।
०००
यस्तै, चर्चित अन्तर्वार्ताकारका रूपमा पहिचान बनाएका पत्रकार टीकाराम यात्रीले त बालेनको सो स्टाटसमाथि प्रतिक्रिया जनाउँदै यस्तो असभ्य शैली परिवर्तन गर्न आग्रह गरेका छन् । पत्रकार यात्रीले बालेनलाई मेन्सन गर्दै लेखेका छन्–
आफ्नो तर्क तथ्यमा आधारित रहेर सालीन, सौम्य शैली अनि भाषामा राखे हामीलाई पनि समर्थन र अनुमोदन गर्न थप सोचिरहनु पर्थेन कि ! ‘बालेन शाह’ज्यू आगे यहाँकै मर्जी !! शैलीमा सन्देह होला तर सारमा समर्थन छ !!!!
पत्रकार यात्रीले बालेनको भाषाशैली अत्यन्तै कमजोर भएको कारणले गर्दा समर्थन गर्नुपर्नेहरूले खुलेर गर्न नसकेको स्पष्ट लेखेका छन् । यात्रीको भनाइबाट उनको ‘हठ’ले स्वयम् उनका समर्थकको पनि चित्त दुःखिरहेको स्पष्ट हुन्छ ।
यात्रीको सो प्रतिक्रियामाथि करिब दुई हजार वटा प्रति–प्रतिक्रिया आएका छन् भने १२ हजार भन्दा धेरैले लाइक, लभ, केयर, हाहा, वाउ, स्याड, याङ्ग्री रियाक्ट गरेका छन् । त्यसमध्ये धेरैले उनलाई गाली गर्दै ‘टीकाराम यात्री’को सपोर्ट बालेनलाई नचाहिने प्रतिक्रिया दिएका छन् भने कतिपयले अति भएपछिको परिणाम भएको भन्दै बालेनको बचाउ गरेका छन् । कतिपयले ट्रम्प र जेडी भ्यान्सले जेलेन्स्कीलाई तथानाम गाली गरेकोमा ट्रम्पलाई शालीन, सौम्य र शिष्ट देख्ने यात्रीले रसियन ‘बा’को चस्मा खोल्नुपर्ने धारणा पनि अगाडि सारेका छन् ।
प्रतिक्रिया लेख्नेहरूमध्ये कतिपयले बालेनकै कारण पछिल्लो समय काठमाडौं महानगरपालिकामा समस्या आइरहेको चर्चा गर्दै आफैं सुध्रिन अनुरोध गरेका छन् । कर्मचारीलाई सहज ढङ्गले काम गर्न नदिएर असहज वातावरणको निर्माण गर्ने काम मेयर बालेनबाटै भएको भन्ने सुनिने गरेको बताउँदै उनीहरूले अरुलाई सुधार गराउने हो भने पहिले आफैंबाट सुधार गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS