काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रताप्रति जनमानसमा भ्रम उत्पन्न गराउने गरी केही राजनीतिक दलका गलत मनसाय भएका व्यक्तिले उनले काम गर्न सक्दैनन् भन्ने भ्रम फैलाएको देख्दा आश्चर्य लाग्यो ।
स्वतन्त्र उम्मेदवारको घोषणापत्रमा रहेको बुँदागत २८ वटा प्रतिबद्धता अध्ययन गरौँ, कुनै पनि राजनीतिक दलको घोषणापत्र भन्दा भिन्न दृष्टिकोणले ल्याइएको छ । बालेनको काँधमा काठमाडौं महानगरपालिका हाँक्ने जिम्मेवारी प्राप्त भएको अवस्थामा उनको घोषणापत्र कार्यान्वयन गर्न लाखौं बौद्धिक युवाको साथ रहने पक्का छ । किनकी एउटा स्वतन्त्र र शालीन युवालाई जिताउन उनका पछाडि लाखौँलाख युवाको साथ र सहभागिता रहेको त हालसम्मको मतपरिणामले पनि पुष्टि गर्दै गएको छ ।
बौद्धिक व्यक्तिहरूले उनको घोषणापत्र तयार गरेका हुन् । राजनीतिक प्रणालीप्रतिको निराशा र दलीय गठबन्धनको भुमरीभित्र देशलाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध साहको उम्मेदवारीलाई कम आँकलन गर्नु राजनीतिक दलहरूको मुर्ख्याइँ हुनसक्छ । दलसँग आवद्ध व्यक्तिले मात्रै काम गर्न सक्छन् स्वतन्त्र उम्मेदवार विजयी भए भने कामै गर्न सक्दैन, काम गर्न जान्दैनन्, राजनीतिक भिजन छैन भन्ने भ्रमको खेती गर्दा कसैलाई आत्मररीमा रमाइलो लाग्छ होला । तर, बालेन साह विजयी बने भने काठमाडौ महानगरपालिकामा सुनौलो भविष्य बोकेका युवाहरूले महानगरपालिकालाई भ्रष्टाचारमुक्त साँच्चिकै काठमाडौं महानगरपालिका बनाएर देखाउँछन् यसमा कुनै शङ्का छैन ।
राजनीतिक दलले देशलाई बन्धक बनाएर राज्य दोहन गर्ने प्रणालीको अन्त्य गर्न आगामी दिनहरूमा देशभर यस्ता स्वतन्त्र युवाहरूको भावनाले नेपालको राजनीतिलाई सही बाटोमा ल्याउन पनि दबाब सृजना गर्छ । कथित मानसिकताले दलले मात्रै आफ्ना कार्यकर्तालाई चुनावी मैदानमा खडा गर्नुपर्छ भन्ने अप्रजातान्त्रिक परिपाटीमा पनि सुधार ल्याउन अब युवाहरू सशक्तरूपमा अगाडि आउनैपर्छ र आउन सुक्छन् भन्ने सन्देश बालेनले दिएका छन् ।
विभेदको राजनीति नसलवादको राजनीति अन्त्य गर्नका लागि काठमाडौं महानगरपालिकामा बालेन साह अवश्य पनि विजयी हुनैपर्दछ भन्ने धेरैको इच्छा छ । देशभर देखा परेको युवाहरूको जोश र जाँगरलाई आत्मासात गर्दै राजनीतिक दलका बुद्धि–विवेक गुमाइसकेका नेताहरूले अब नयाँ युवा पुस्तालाई राज्यको बागडोर सुम्पन तयार हुनुपर्छ । त्यसैको आवाज हो बालेन साहको उम्मेदवारी ।
रायमाझी राजनीतिक विश्लेषक एवम् लेखक हुन् ।
FACEBOOK COMMENTS