भक्तपुर । सूर्यविनायक नगरपालिका-२, बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले गरेको पाइएको छ । पक्राउपछि मिलनले बुवा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको गत शनिबार राति हत्या भएको थियो । हत्यापछि फरार रहेका मिलनलाई प्रहरीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार पक्राउ परेका मिलनसँग बयान लिने कार्य जारी छ । उनलाई भक्तपुर प्रहरी परिसर पठाएको उनले बताए ।
‘प्रारम्भिक अनुन्धान र बयान क्रममा बुवा र भाइको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले नै गरेको पाइएको छ । बुवा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको उनले स्वीकार गरेका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार बुवा र भाइको शनिबार राति हत्या गरेपछि आइतबार बिहान कोठामा ताल्चा लगाएर मिलन स्कुटरमा फरार भएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरले आजै उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर छोराहरू बस्दै आएको स्थान बालकोट आएका थिए ।
FACEBOOK COMMENTS