काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले आज शुक्रबार फैसला गर्ने तयारी गरेको छ ।
हिजो बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै आज आदेश आउनसक्ने अनुमान गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये १७ जनालाई यसअघि असार १ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
पुर्पक्षका लागि थुनामा पुग्नेमा नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत छन् ।
आफूहरू पुर्पक्षका लाथि थुनामा गएपछि अभियुक्तहरुले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए । सो निवेदनमाथि उच्च अदालत पाटनले आज फैसला गर्ने तयारी गरेको हो ।
उच्च अदालतले दिने फैसलाबाट केही उच्च ओहोदाका अभियुक्तहरू छुट्नसक्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS