काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बास्केटबल प्रशिक्षक, मेन्टर तथा खेल विकास क्षेत्रका विज्ञ नेल्स हकिन्सनद्वारा विशेष बास्केटबल मास्टरक्लास आयोजना गरेको छ ।
कार्यक्रममा प्रिमियरका छात्रा तथा छात्र बास्केटबल टिमसँगै प्रिमियर स्पोट्र्स एकेडेमीका खेलाडीहरूको सहभागिता रहेको थियो, जसले विद्यालयको खेलमार्फत समग्र विद्यार्थी विकासप्रतिको प्रतिबद्धता झल्काएको छ।
ट्रिनिटी वेस्टर्न र सिएटल प्यासिफिक विश्वविद्यालयमा खेलाडी र प्रशिक्षकका रूपमा काम गरेका नेल्स हकिन्सन पछि एफआईबीए ओलम्पिक सॉलिडारिटी र युएसए बास्केटबलमा नेतृत्व भूमिका निभाउँदै विश्वभरि बास्केटबल विकासमा मार्गदर्शन गर्ने व्यक्तित्व हुन् ।
एक घण्टाको मास्टरक्लासमा हकिन्सनले आफ्नो लामो अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभवका आधारमा खेलाडीहरुलाई सहनशक्ति विकास, खेल बुझाइ (गेम इन्टेलिजेन्स), आधारभूत सीप सुदृढ गर्ने तरिका तथा वास्तविक खेल परिस्थितिमा प्रयोग गर्न सकिने व्यावहारिक प्रिदिए । यससँगै उनले चुनौतीहरूलाई पार गर्दै अघि बढ्ने, अनुशासनमा रहने र उपलब्ध अवसरहरूको पूर्ण उपयोग गर्ने महत्त्वमा विशेष जोड दिए ।


प्रशिक्षणका क्रममा हकिन्सनले खेल जित–हारको अंकभन्दा बाहिर सोच्न प्रेरित गर्दै, खेलाडीको सोच, तयारी, दैनिक बानी – व्यवहार र मैदानबाहिर गरिने निर्णयहरूले खेल प्रदर्शनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा गहिरो सन्देश दिए। सहभागी विद्यार्थीहरूले यस अनुभवलाई प्रेरणादायी भएको बताउँदै जितभन्दा दीर्घकालीन विकास, आत्म अनुशासन र जिम्मेवारीबोधमा ध्यान केन्द्रित गर्न सहयोग गरेको साझा गरेका थिए ।

यो मास्टरक्लास नेपाल विश्वविद्यालय खेलकुद संघको सहकार्य र समर्थनमा सम्भव भएको हो, जसको साझेदारीले प्रिमियरका युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलमा खेल शिक्षा प्रतिस्पर्धामा मात्र सीमित छैन, यो चरित्र निर्माण र जीवन सीप विकाससँग गहिरो रूपमा जोडिएको छ ।

FACEBOOK COMMENTS