काठमाडौँ । खोटाङको दिक्तेलमा सञ्चालन गरिएको समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ युवा क्लबले चुमेको छ । प्रथम र दोश्रो स्थानका लागि शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिकालाई पछि पार्दै बाम्राङ युवा क्लबले उपाधि चुमेको हो । बाम्राङ युवा क्लबले २ गोल गर्दा साकेलाले १ गोल मात्र फर्काएको थियो ।
समता फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने बाम्राङ युवा क्लबले नगद ५१ हजार १११ र दोश्रो स्थान प्राप्त गर्ने साकेला गाउँपालिकाले २७ हजार ७७७ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजेता र उपविजेता टिमलाई जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष महेश राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
जिल्लाका १७ टिमको सहभागिता रहेको प्रतियोगितामा हलेसी फुटबल क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । हलेसी फुटबल क्लबले शुक्रबार युवा जागरण क्लबलाई पछि पार्दै तेश्रो स्थान पक्का गरेको थियो । तेश्रो स्थान प्राप्त टिमलाई नगद १२ हजार ५५५ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको समता फुटबल क्लबका अध्यक्ष डिके दिनेशले जानकारी दिए ।
प्रतियोगितामा साकेला गाउँपालिकाका रामसुर राईले बेष्ट डिफेन्डर, बाम्राङ युवा क्लवका हरि खवासले हाइ स्कोरर, बाम्राङकै सुजन खवासले बेष्ट मिडफिल्डर, बाम्राङकै सुजन खड्काले बेष्ट गोलकिपर, साकेला गाउँपालिकाका प्रशान्त राईले बेष्ट फरवार्ड र साकेलाका जोर्डन राईले प्लेयर अफ टुर्नामेन्टको उपाधि जितेका छन् । प्रतियोगिता गत शनिबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।
FACEBOOK COMMENTS