काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देशै छाडेकी छिन् ।
उनले देश छोडेलगत्तै बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।
सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी हुन् ।
हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकास सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । त्यसअघि उज–जमानले त्यहाँका सबै राजनीतिक दलका नेताहरुसँग पछिल्लो अवस्थाबारे छलफल गरेका थिए ।
अन्तरिम सरकार बनाउने घोषणासँगै सेना प्रमुखले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन समेत आग्रह गरेका छन् । अब सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै सेना प्रमुखले देशलाई धेरै क्षति भएको र अर्थ व्यवस्था प्रभावित भएको तथा कयौं मानिस मारिएको उल्लेख गर्दै अब अवस्था सहज हुने बताएका हुन् ।
कता गइन् शेख हसिना ?
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हसिनाले राजीनामा दिएर भारततर्फ गएको उल्लेख गरेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको समाचार बताइएको छ । त्यसअघि प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् ।
प्रधानमन्त्री हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’ तर्फ प्रस्थान
FACEBOOK COMMENTS