काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल तोकिएको मिति र स्थानअनुसार नै हुने स्पष्ट पारेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै एन्फाका प्रवक्ता सुरेन्द्र शाहले विभिन्न सञ्चारमाध्यममा आएका कपोकल्पित र भ्रामक समाचारको खण्डन गर्दै, आगामी सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामै खेलहरू हुने बताएका हुन् ।
“एन्फाले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारी पूरा गरिसकेको छ,” विज्ञप्तिमा उल्लेख छ, “जुलाई ७ कै दिन एएफसी र फिफाबाट समेत स्वीकृति प्राप्त भइसकेको छ, त्यसैले खेल सम्बन्धी प्रकाशित झुटा समाचारले खेलप्रेमीहरूको भावनामा अनावश्यक चोट पुर्याएको छ ।”
यसअघि केही मिडियामा बंगलादेशले नेपालसँग खेल्न अस्वीकार गरेको आशयका समाचार आएका थिए। त्यसैको खण्डन गर्दै एन्फाले स्पष्ट पारेको हो कि दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत नै तोकिएको मिति र स्थानमा हुनेछ ।
दशरथ रंगशालामा हुने उक्त दुई मैत्रीपूर्ण खेल नेपाल र बंगलादेशबीचको फुटबल सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्यसहित तय गरिएको हो। एन्फाले यसअघि नै राष्ट्रिय टिमको तयारी र व्यवस्थापनका लागि आवश्यक पहल अघि बढाइसकेको जनाएको छ ।
एन्फाले सबै खेलप्रेमीहरूलाई भ्रममा नपर्न आग्रह गर्दै निर्धारित मितिमा रंगशालामा उपस्थित भई राष्ट्रिय टिमको समर्थन गर्न पनि अनुरोध गरेको छ।
FACEBOOK COMMENTS