काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले बंगलादेश सरकारका नवनियुक्त परराष्ट्रमन्त्री डा. खालिलुर रहमानलाई बधाई दिएका छन् ।
ढाकामा भएको भेटवार्तामा दुई देशका परराष्ट्र मन्त्रीहरूले नेपाल-बंगलादेशबीचको लामो समयदेखिको मित्रवत् सम्बन्धको समीक्षा गरेका थिए। उनीहरूले असल छिमेकी सम्बन्ध, साझा आकांक्षा र गहिरो सांस्कृतिक सम्बन्धका आधारमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको बंगलादेशस्थित नेपाली दुताबासले जनाएको छ ।
भेटमा व्यापार, ऊर्जा, कनेक्टिभिटी र पर्यटन जस्ता क्षेत्रमा रहेको अपार सम्भावनालाई उपयोग गर्दै आर्थिक साझेदारी विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो। साथै, दुवै पक्षले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा मिलेर काम गर्दै दुई देश र जनताको साझा हित प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
भेटमा बंगलादेशका राज्यमन्त्री शामा ओबेद इस्लाम, परराष्ट्र सचिव असद आलम सियाम र महानिर्देशक इस्रात जहाँ सहभागी थिए। मन्त्री शर्मासँग नेपालका राजदूत घनश्याम भण्डारी, सहसचिव गहेन्द्र राजभण्डारी, उपनियोग प्रमुख ललिता सिलवाल र उपसचिव मधुसूदन भट्टराई उपस्थित रहेका थिए ।
FACEBOOK COMMENTS