काठमाडौँ । बंगलादेशले पाकिस्तानलाई एकदिवसीय सिरिजको पहिलो खेलमा ८ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
बुधबार ढाकास्थित शेर ए बांग्ला राष्ट्रिय रंगशालामा भएको खेलमा पाकिस्तान ११४ रनमै समेटिएको थियो । पाकिस्तानले दिएको ११५ रनको सामान्य लक्ष्य बंगलादेशले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका तन्जिद हसन तमीमले आक्रामक ब्याटिङ गर्दै अविजित ६७ रन बनाए भने नजमुल हुसैन शान्तोले ३३ बलमा २७ रन बनाए भने लिटन दास ३ रनमा अविजित रहे । लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुआत राम्रो हुन सकेन। सैफ हसन ४ रनमै आउट भए । त्यसपछि तन्जिद हसन तमीम र नजमुल हुसैन शान्तोले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै खेल लगभग एकतर्फी बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ३०.४ ओभरमा ११४ रनमै अलआउट भएको थियो । बंगलादेशका तीव्र गतिका बलर नाहिद राणाले उत्कृष्ट प्रदर्शन गर्दै ७ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए । कप्तान मेहदी हसन मिराजले पनि १० ओभरमा २९ रन दिएर ३ विकेट लिए। तस्किन अहमद र मुस्तफिजुर रहमानले एक–एक विकेट लिए।
पाकिस्तानका लागि साहिबजादा फरहानले २७ रन र माज सादाकतले १८ रन बनाए। अन्य ब्याटरले ठूला इनिङ खेल्न सकेनन्। मध्यक्रमका खेलाडी हुसैन तलात ४, अब्दुल समद शून्य र कप्तान शाहिन अफ्रिदी ४ रनमै आउट भए। अन्तिमतिर अलराउन्डर फहीम अशरफले ४७ बलमा ६ चौका र एक छक्कासहित ३७ रन बनाए, जुन पाकिस्तानका लागि सबैभन्दा ठूलो इनिङ रह्यो। फहीम अशरफ र अबरार अहमदले अन्तिम विकेटका लागि ३२ रनको साझेदारी गर्दै टोलीको स्कोर ११४ रनसम्म पुर्याएका थिए ।
यस खेलमा पाकिस्तानका चार खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेल्ने अवसर पाएका थिए । अब्दुल समद, माज सादाकत, साहिबजादा फरहान र शमिल हुसैनले डेब्यु गरे पनि ठूलो इनिङ खेल्न सकेनन् ।

यसैबीच बंगलादेश टोलीले टी-२० विश्वकप बहिष्कार गरेपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको हो । सुरक्षा चिन्ताका कारण भारत यात्रा नगर्ने निर्णय गरेपछि बंगलादेशलाई उक्त प्रतियोगिताबाट हटाइएको थियो र त्यसको स्थानमा स्कटल्यान्डलाई सहभागी गराइएको थियो। पाकिस्तानविरुद्ध ढाकामा खेलिएको यो खेल सोही निर्णयपछि बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता बनेको छ ।

अब सिरिजको दोस्रो खेल शुक्रबार मिरपुरमा खेल्ने तालिका रहेको छ ।

FACEBOOK COMMENTS