काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशका अलराउन्डर मोहम्मद सइफुदिनलाई भित्र्याएको छ ।
शुक्रबार पोखराले प्रतियोगिताको लागि सइफुदिनलाई भित्र्याएको जनाएको हो । “पोखरा एभेन्जर्स हर्षका साथ बंगलादेशी अलराउन्डर मोहम्मद सइफुदिनलाई एनपीएल–३ को लागि अनुबन्धित भएको जनाकारी गराउँदछ,” सामाजिक सञ्जालमा पोखराले उल्लेख गरेको छ ।
सइफुदिन अनुभवी बलिङ अलराउन्डर हुन् । उनले उमेर समूह हुँदै राष्ट्रिय टिम सम्मको यात्रा गरिसकेका छन् । फ्रेन्चाइज क्रिकेटमा भने उनी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा प्रभावशाली छाप छाडेका क्रिकेटर हुन् । उनले बीपीएलमा पाँच फरक टिमबाट खेल्दा कुल ९६ विकेट लिएका छन् ।
त्यसैगरी, उनले घरेलु टी–२० क्रिकेटमा १९३, टी–२० अन्तर्राष्ट्रियमा ६३ र एकदिवसीय अन्तर्राष्ट्रियमा ४२ विकेट लिएका छन् ।
१३ विकेटसहित सन् २०१६ मा सम्पन्न यू–१९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेपछि सइफुदिनले सन् २०१७ मा राष्ट्रिय टिममा डेब्यू गर्ने मौका पाए । उनले अप्रिलमा श्रीलंकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेल्दै सिनीयर टिममा डेब्यू गरेका थिए ।

यसअघि पोखराले प्रतियोगिताको लागि बंगलादेशकै पूर्वकप्तान साकिब अल–हसन, मेहदी हसन, धनन्जय लक्ष्मण र चमिका करुणारत्ने लाई भित्र्याएको थियो ।
