काठमाडौँ । बंगलादेशमा आम निर्वाचनका लागि मतदान जारी रहँदा विभिन्न स्थानमा हिंसात्मक घटना भएका छन् ।
खुलना जिल्लामा एक मतदान केन्द्र बाहिर जमात–ए–इस्लामीका कार्यकर्तासँग भएको झडपमा बीएनपी (बंगलादेश नेशनलिस्ट पार्टी) का नेता मोहिबुज्जमान कोच्चिको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बीएनपीका अनुसार जमातका एक नेताले धक्का दिएपछि कोच्चि रूखमा ठोक्किएका थिए, जसका कारण उनको ज्यान गएको हो । तर जमात–ए–इस्लामी पक्षले भने झडपका क्रममा उनी अचानक बिरामी परेर हृदयघातका कारण मृत्यु भएको दाबी गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैबीच, मुंशीगंज–३ र गोपालगंज सदर क्षेत्रमा मतदान केन्द्र बाहिर देसी बम विस्फोट गराइएको छ । मुंशीगंज–३ मा विस्फोटपछि केही समयका लागि मतदान रोकिएको थियो, तर अहिले पुन: सुचारु भएको छ। गोपालगंज सदर क्षेत्रमा भएको विस्फोटमा दुई जना अन्सार (अर्धसैनिक बल) का जवान र एक १४ वर्षीया बालिका घाइते भएका छन् ।
आजको मतदानमा देशभर करिब १२ करोड ७० लाख मतदाता आज आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । यस निर्वाचनमा युवावर्गको भूमिका महत्वपूर्ण मानिएको छ, किनभने झन्डै आधा मतदाता १८ देखि ३७ वर्ष उमेर समूहका छन् । तीमध्ये करिब ४५ लाख ७० हजार मतदाताले पहिलोपटक मतदान गर्दैछन् ।

अहिलेसम्म देशभरका ३३ हजार मतदान केन्द्रमा करिब ३३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सुरक्षा सतर्कता कडा पारिएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

FACEBOOK COMMENTS