काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरू हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ ।
केन्द्रीय बैंकले दिएको निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा गत आर्थिक वर्ष चौथो त्रैमासमा यी तीन बैंक कारबाहीमा परेका हुन् ।
राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षण विभागले बैंकहरू र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कारबाहीको विवरण प्रकाशित गर्दै ती बैंकले गरेको गल्ती र त्यसवापत पाएको नसिहतसहित करोडौं रुपैयाँ जरिवानाको विवरण सार्वजनिक गरेको छ ।
जसमा कुमारी र हिमालयन बैंक कर्जा स्रोत परिचालन अनुपालन गर्दा कारबाहीमा परेका छन् । कुमारीले कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो तोकिएको सीमा अर्थात ९० प्रतिशतभन्दा बढी कायम गर्दा नगद जरिवानामा परेको छ । कुमारीले २०७९ माघमा ९० प्रतिशतभन्दा बढी सिडी रेसियो कटाएर व्यवसाय गर्दा ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा जरिवाना तिरेको थियो ।
त्यसैगरी हिमालयन बैंकले गत आवको कात्तिकमा सिडी रेसियो ९० प्रतिशतमाथि राखेर व्यवसाय गर्दा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना तिरेको हो ।
प्राइम कमर्सियल राष्ट्र बैंकको अन्य कारबाहीमा परेको छ । दिइएका तीन निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा बैंकका सिइओ नारायणदास मानन्धरलाई राष्ट्र बैंकले नसिहत अर्थात बोलाएर सचेत गराएको हो ।
बैंकले एकृकीत निर्देशन २०७९ निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था गरेको हो । बैंकले गत आवको चौथो त्रैमासमा ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भार सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको थियो । साथै, बैंकले प्रिमियम दर बढाएर ब्याज असुल गरेको थियो ।
राष्ट्र बैंकले गल्तीको सजायमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ बमोजिम प्राइम बैंकका सिइओ मानन्धरलाई सचेत गराएको उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS