काठमाडौँ । बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको मात्र घटेको छ । केही बैंकले मात्र साउनको ब्याजदरलाई निरन्तरता दिएका छन् ।
साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९ दशमलव ९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १० दशमलव ८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् ।
कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक कृषि विकास बैंक र नेपाल बैंकले १० दशमलव ८९६ प्रतिशत ब्याजदर अफर गरेका छन् भने प्राइम कमर्सियल बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक र प्रभू बैंकले क्रमशः १० दशमलव ५० प्रतिशत, १० दशमलव ४९ प्रतिशत, १० दशमलव ४० प्रतिशत, र १०/१० प्रतिशत तोकेका छन् ।
बाँकी एनएमबी बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले ९।९९ प्रतिशत ब्याजदर तोकेका छन् । सबैभन्दा कम भदौ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८ दशमलव ९२ प्रतिशत ब्याजदर तोेकेको छ । यसअघि साउन महिनाका लागि बैंकहरुले निक्षेपमा ७ प्रतिशतदेखि ९ दशमलव ९८ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।
प्रत्येक महिनाका लागि नयाँ ब्याजदर अन्तिम महिनाको मसान्तमा तोकिसक्नुपर्ने केन्द्रीय बैंकको नीतिअनुसार बैंकहरुले अधिकतम १० प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् ।
FACEBOOK COMMENTS