काठमाडौं । नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरेको छ ।
गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक सातासम्म चल्ने जनाइएको छ । प्रदर्शनीमा दैनिक सयौँको संख्यामा अवलोकनकर्ताहरू आइरहेको नबिल बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले तस्बिर प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए ।
“तस्बिर प्रदर्शनी इतिहास बुझ्ने अवसर पनि हो, पछिल्लो चार दशकमा मुलुकको विकासको गति थाहा पाउने अवसर पनि हो”, उनले भने, “प्रदर्शनीमा राखिएका तस्बिरमा नेपालको चार दशकमा भएका मुख्य परिवर्तनलाई समेट्ने प्रयास गरिएको छ ।” उनले पछिल्लो चार दशकमा राजनीतिक रूपमा मुलुकमा अस्थिरता भए पनि मुलुकले विकासमा विकास निर्माणका काम भने भइरहेको बलियो प्रमाण तस्बिरहरू भएको बताए ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय मुलुकमा केही पनि विकास भएन भन्ने भाष्य स्थापित भइरहेको अवस्थामा गोरखापत्र संस्थानले नबिल बैंकसँग व्यावसायिक साझेदारीमा सुरु गरेको तस्बिर प्रदर्शनीका माध्यमबाट विकास निर्माणलाई देखाउन खोजेको बताए । उनले भने, “नबिल बैंकसँग नयाँ ढाँचाको व्यावसायिक साझेदारीबाट दोहोरो व्यावसायिक प्रवद्र्धन गर्नु हाम्रो उद्देश्य हो, त्यसबाहेक समाजले पनि मुलुकमा भइरहेको विकासलाई तस्बिरमार्फत नजिकबाट अनुभव गर्न सकोस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।”
भिडिओ पनि हेर्नुहोस्–
FACEBOOK COMMENTS