काठमाडौँ । पछिल्लो समय नेपालका वाणिज्य बैंकहरूको आधारदर निरन्तर घट्दो छ । पछिल्लो तथ्याङ्कअनुसार बैंकहरूको औसत आधारदर फागुन महिनामा ६.६१% मा झरेको छ, जुन माघ महिनाको भन्दा कम हो । माघमा बैंकहरूको औसत आधारदर ६.८% थियो । केही बैंकहरूको आधारदर घटेर ५% हाराहारीसम्म आइपुगेको छ ।
बैंकिङ प्रणालीमा अत्यधिक तरलता र निक्षेप तथा स्थायी बचत योजनाहरूको ब्याजदरमा आएको गिरावटले आधारदर पनि घटेको हो । आधारदर बैंकको न्यूनतम कर्जा ब्याजदर निर्धारण गर्ने सूचक भएकाले यसको कमीले प्रत्यक्ष रूपमा कर्जा लिनेहरूलाई राहत मिल्छ ।
बैंकहरूको आधारदर घटेसँगै आवास, सवारी, व्यवसाय वा अन्य व्यक्तिगत कर्जाहरूको ब्याजदरसमेत घट्ने हुँदा नयाँ कर्जा लिन चाहनेहरूका लागि यो उत्कृष्ट अवसर बन्न सक्छ ।
फागुन महिनामा प्रकाशित तथ्याङ्कअनुसार नेपालका वाणिज्य बैंकहरूको आधारदर ५.११% देखि ७.५३% को बीचमा रहेको छ ।
सबैभन्दा कम आधारदर भएका बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक ५.११%, राष्ट्रिय वाणिज्य बैंक ५.४४%, एभरेष्ट बैंक ५.६३% रहेका छन् ।
यस्तै, नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र एनएमबी बैंकका आधारदर ६% हाराहारीमा छन् ।
एनआईसी एसिया बैंक सबैभन्दा धेरै ७.५३% आधारदर हुने बैंक भएको छ ।
FACEBOOK COMMENTS