काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि ऋण लिन चाहने व्यवसायीलाई राहत दिने व्यवस्था गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले ठूला विद्युतीय सवारीसाधनको कर्जा–मूल्य अनुपात (Loan to Value Ratio) लाई थप सहजीकरण गर्ने घोषणा गरेको हो।
हाल लागू व्यवस्थाअनुसार विद्युतीय सवारीसाधन तथा निजी प्रयोजनका अन्य सवारी खरिद गर्दा सवारीको कुल मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने व्यवस्था छ। बाँकी ४० प्रतिशत रकम भने खरिदकर्ताले स्वयं व्यवस्थापन गर्नुपर्ने हुन्छ।
नयाँ मौद्रिक नीतिले भने व्यावसायिक प्रयोजनका ठूला विद्युतीय सवारीसाधनको वित्तीय पहुँच सहज बनाउने लक्ष्य लिएको छ। यसबाट सार्वजनिक यातायात, ढुवानी तथा व्यवसायिक क्षेत्रमा विद्युतीय सवारीको प्रयोग बढ्ने अपेक्षा गरिएको छ।
यस्तै, जनजीवन र व्यवसायमा असर पुर्याउने आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यवसायका सवारी तथा ढुवानीका साधन क्षतिग्रस्त भई प्रतिस्थापन गर्नुपर्ने अवस्थामा भने बैंकहरूले त्यस्ता सवारी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा–मूल्य अनुपात कायम गरी ऋण उपलब्ध गराउन सक्ने व्यवस्था पनि मौद्रिक नीतिमा गरिएको छ।
नेपाल राष्ट्र बैंकको यो व्यवस्थाले हरित ऊर्जामा आधारित यातायात प्रणाली विस्तार गर्नुका साथै व्यवसायीलाई विद्युतीय सवारी खरिदमा थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।