काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ११ महिनामा ५६ अर्ब ४५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
जुन गत आवको सोही अवधिको तुलनामा १६.०४ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा बैंकहरुको नाफा ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
२० वटा बैंकमा ६ वटाको नाफा बढेको छ भने बाँकी १२ वटा बैंकको नाफा घटेको छ ।
यो अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । नबिलले ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा १०.९० प्रतिशतले घटेको छ ।
बढी नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले ५ अर्ब ९ करोड नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २१.७६ प्रतिशतले घटेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड १३ लाख नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.०५ प्रतिशतले कम हो । प्राइम बैंकले ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही तुलनामा १०.५३ प्रतिशतले बढी हो ।
एभरेस्ट बैंकले यो अवधिमा ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.०५ प्रतिशतले बढी हो । गत आवका जेठ मसान्तमा ४ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको नाफा यो अवधिमा ३१.४१ प्रतिशतले घटेर ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
प्रभुकले चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४.८० प्रतिशतले बढेको छ । कृषि विकास बैंकले ११ महिनामा ३ अर्ब २ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ५६ करोड ३९ लााख रुपैयाँ रहेको थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३.०५ प्रतिशतले घटेर ३ अर्ब १ करोड ९० लाख रुपैयाँ रहेको छ ।
सिद्धार्थ बैंकको नाफा १.९९ प्रतिशतले बढेर २ अर्ब २७ करोड रुपैयाँ, सिटिजन्स बैंकको नाफा ४.५४ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ६७ लाख रुपैयाा पुगेको छ ।
एनएमबि बैंकको नाफा १६.५६ प्रतिशतले घटेर २ अर्ब ७७ करोड ६३ लाख, सानिमा बैंकको नाफा ३९.६८ प्रतिशतले घटेर १ अर्ब ७४ करोड ६४ लाख, माछापुच्छे बैंकको नाफा २३.६१ प्रतिशतले घटेर १ अर्ब २८ करोड ४१ लाख, हिमालयन बैंकको नाफा १६.१५ प्रतिशतले घटेर २ अर्ब ७६ करोड ६० लाख र नेपाल बैंकको नाफा ६५.०१ प्रतिशतले घटेर १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS