काठमाडौँ । घटना १ – बिहीबार दिउँसो म्याग्दीस्थित एनआईसी एसिया बैङ्कको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि ज्यान लिने उद्देश्यसाथ साङ्घातिक आक्रमण ।
घटना २ – फागुन १७ गते जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाइरहेका एनआईसी एसिया लघुवित्तका एक जना कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेर कर्मचारीबाट नगदसहितको झोला लुटपाट ।
घटना ३ – बीस लाख रुपियाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने र नगरे कालोमोसो दलिदिने घोषणासहित व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको ‘कालोमोसो समूह’का संयोजक शम्भु थापा फागुन २४ गते चितवनबाट र अरू पनि देशका विभिन्न स्थानबाट पक्राउ । उक्त समूहद्वारा सार्वजनिक रूपमै अझै पनि बैङ्क तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण व्यवहार प्रदर्शन जारी ।
घटना ४ – नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला सदस्य मकवानपुर उद्योग वाणिज्य सङ्घले फागुन २८ गते ‘बैङ्कमा नगद जम्मा नगरौँ’ भन्ने आशयसहितका ब्यानर लिएर हेटौँडा बजारमा प्रदर्शन । सङ्घद्वारा ब्याजदरको विषयमा विरोध जनाउँदै एक दिनका लागि बैङ्क बन्द गराउन हेटौँडास्थित बैङ्क कार्यालयलाई पत्राचार ।
घटना ५ – उद्योगी व्यवसायीको छाता सङ्गठन मानिएको नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी र आगामी निर्वाचनका आकाङ्क्षीसमेतको सहभागितामा फागुन ३० गते नेपाल राष्ट्र बैङ्क नजिक ब्याजदर घटाउनुपर्ने भन्दै विरोध प्रदर्शन ।
तुलनात्मक रूपमा सुदृढ मानिएको मुलुकको बैङ्किङ प्रणालीमाथि पछिल्लो समय भइरहेका प्रहारका प्रतिनिधि घटना हुन् यी । सम्झौता अनुसार कर्जा भुक्तानी गर्नुपर्ने दायित्वबाट विमुख भई सर्वसाधारणको निक्षेप दुरुपयोग गर्न पाउनुपर्ने आशयसहितका यस्ता अभियानले बैङ्किङ प्रणालीमाथि नै अविश्वास पैदा गर्ने प्रयास भइरहेका छन् । भौतिक आक्रमणसमेतका यस्ता प्रयासले बैङ्किङ क्षेत्रका कर्मचारी त्रसित छन् ।
संरचनात्मक व्यवस्था हुँदाहुँदै सडकबाट समाधान खोज्ने प्रवृत्तिले समग्र बैङ्किङ क्षेत्रलाई असर गर्ने नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बताउनुहुन्छ । “बैङ्किङ क्षेत्रमा देखिएका तमाम समस्या समाधान गर्न राष्ट्र बैङ्कले पछिल्लो समय धेरै सुधार गरेको छ,” उनले भने, “तर व्यवस्थाभित्रैबाट समाधान खोज्नुपर्नेमा आफूखुसी गर्न खोज्नु अराजक प्रवृत्ति नै हो ।” कतिपय व्यवसायीले चुनावी एजेन्डा तयार गर्न पनि बैङ्किङ क्षेत्रमाथि नै प्रहार गरिरहेको उद्योगी व्यवसायीले नै बताउने गरेको उनको भनाइ छ ।
बैङ्क तथा वित्तीय क्षेत्र र यसमा कार्यरत व्यक्तिमाथि साङ्घातिक आक्रमणको घटना, सडकमा आन्दोलनजस्ता अराजक गतिविधिले वित्तीय क्षेत्रको सुरक्षा र भविष्यमै प्रश्न उठ्ने अवस्था आएको बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालका अध्यक्ष पवन गोल्यान बताउनुहुन्छ । “यस्तै अवस्था रहे हामी बैङ्क तथा वित्तीय संस्था चलाउन सक्दैनौँ,” उहाँले भन्नुभयो, “जनताको सम्पत्ति र हाम्रो जिउधनको रक्षा गर्न सरकार अत्यन्तै संवेदनशील हुनुप(यो, अराजकता रोक्नु प(यो ।”
गोल्यानको आकलनमा निजी क्षेत्रको नेतृत्वका आकाङ्क्षीले विषयलाई अत्यधिक राजनीतीकरण गरेर सडकमा पुर्याएका छन् । “नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा विगतमा विभिन्न खाले राजनीतिक गतिविधि हुन्थे,” उनले भने, “तर अहिले असाध्यै अनैतिक स्तरमा भइरहेको छ, वित्तीय क्षेत्रका मुद्दा सडकमा पुर्याउनै नहुने विषय हुन् ।”
वित्तीय क्षेत्रमाथिको हमलाले केन्द्रमा परेको लघुवित्त कम्पनीका कर्मचारी पछिल्ला गतिविधिले मानसिक रूपमै समस्यामा परेको नेपाल लघुवित्त बैङ्कर्स सङ्घका अध्यक्ष प्रकाशराज शर्मा बताउँछन् । ‘‘कर्मचारीलाई कुटपिटकै तहमा आउनुले लघुवित्तको तालाचाबी बुझाउने कि जे पर्छ त्यही सहुँला भनेर अघि बढ्ने हामी दोधारमा छौँ,” उनले भने । अर्थतन्त्र सङ्कटमा परेको बेला यसलाई दुर्घटनामा पुर्याएर लाभ लिन उद्यत केही व्यक्ति तथा संस्थाले नियतवश यस क्षेत्रमाथि प्रहार गरिरहेको उनको बुझाइ रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS