नेपाल बीमा प्राधिकरणले तीन वटा जीवन र चार वटा निर्जीवन गरी सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । लाइसेन्स पाइसकेकामध्ये केही कम्पनी खुलिसकेका छन् भने केही खुल्ने क्रममा छन् । खुलेकामध्ये निर्जीवन बीमासम्बन्धी का मगर्ने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी पनि एक हो । यो कम्पनी गत असार २८ गतेदेखि सञ्चालनमा आएको छ । बागमती प्रदेशको नारायणघाटमा प्रधान कार्यालय स्थापना गरी कम्पनीले कारोबार सुरू गरेको हो । नेपालमा लघु बीमा कम्पनी पूर्णत: नयाँ हुन् । त्यसमाथि परोक्ष रूपमा लघु बीमा कम्पनीले ठूला कम्पनीसँगै प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । रघु बीमा कम्पनीहरूले के काम गर्छन्, समस्या र चुनौतीहरू कस्ता–कस्ता छन् र उपभोक्ताले कसरी लाभ लिइरहेका छन्लगायत विषयमा केन्द्रित रहेर नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालसँग कर्पोरेट खबरकी सृष्टि बिष्टले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, रिमालसँगको कुराकानीको सम्पादित अंश–
लघु बीमा भनेको के हो ?
लघुबीमा बनेको सानो आकारको बीमा हो । यो योजनाअन्तर्गत ५० लाख रूपैयाँसम्मको बीमा गर्न अनुमति छ । घर, सम्पत्ति, व्यक्तिगत दुर्घटना, मोटरसाइकल, बाइसाइकलजस्ता वस्तु तथा सेवाको बीमा हामी गर्छौँ ।
कम्पनी सञ्चालनमा आएको झन्डै चार महिना पुग्न लागेको छ, के–कसरी काम अघि बढिरहेको छ ?
हाम्रो मुख्य उद्देश्य भनेको सीमान्तकृत वर्गलाई बीमाको पहुँच पुर्याउनु हो । यो धेरै पहिलादेखि पहल हुँदै आएको तथा भर्खरैमात्र सरकारले अनुमति दिएर कारोबारमा आएको संस्था हो । निर्जीवन बीमा ठूला–ठूला कम्पनीहरूले पनि गर्दै आएका छन् । तर, जुन सीमान्तकृत वर्गसम्म पुग्नुपर्ने हो त्यो नपुगेको अवस्थालाई दृष्टिगत गरी हामीले आफ्नो काम अघि बढाएका छौँ ।
नेपालमा लघु बीमाको यो नयाँ अवधारणा हो । काम गर्दा सहजता र चुनौतीहरू के–कस्ता हुने रहेछन् ?
हाम्रो उद्देश्य र चुनौती भनेकै सीमान्तकृत वर्गसम्म पुग्नु हो । छोटो समयमा अहिले नै यो सहजता र यो चुनौती भनिहाल्ने स्थिति छैन । यद्यपि, बीमाङ्क रकममा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट), ठूला कम्पनीका कतिपय प्रडक्टसँग गर्नुपरेको प्रतिस्पर्धालाई प्रारम्भिक चुनौतीका रूपमा अनुभव गरिरहेका छौँ ।
स्थानीय तहसँग के कस्तो सहकार्य गरिरहनु भएको छ ?
माइक्रो इन्स्योरेन्स कम्पनी र स्थानीय सरकारको सम्बन्ध त नङ र मासु जस्तो हो । स्थानीय सरकारसँग मिलेर, सहकार्य गरेपछि धेरै फाइदा छ । जोखिम व्यवस्थापनअन्तर्गत त झन् सहकार्य आवश्यक छ । जस्तो, अहिले बाढी आएर भएको क्षतिको पूर्ति सरकारले गर्दै आएको छ । तर, अब यस्ता प्रकृतिका जोखिम व्यवस्था हामी गर्छौँ । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समेत हाम्रो सहकार्य रहनेछ । केन्द्रीय सरकारले अनुदान दिएको छ । साथै अब स्थानीय प्रदेश सरकारले पनि अनुदान दिए आम उपभोक्तालाई सहज हुन्छ । यसका लागि सहकार्य त जरुरी भइहाल्यो ।
शाखा विस्तारमा कसरी लाग्दै हुनुहुन्छ ?
वास्तवमा गरिब, न्यून आय भएका वर्ग, पिछडिएका क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदायमै बीमाको आवश्यकता एकदमै बढी छ । त्यसअनुसार धनाढ्य वर्गका व्यक्तिलाई भन्दा गरिब, न्यून आय भएका वर्ग, पिछडिएका क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदायका व्यक्तिलाई बीमाको आवश्यता बढी छ । त्यस्ता समुदाय र बस्तीमा पुग्नका लागि शाखा सञ्जाल त बनाउनै पर्छ । दुरदराजका तथा सीमान्तकृत समुदायमा बीमा पहुँच पुर्याउन लघु बीमा कम्पनीले पनि महत्वपूर्ण योगदान दिन सक्छन् । त्यसैले हाम्रो प्रधान कार्यलय नारायणघाटमा राखेका हौँ । हाम्रो प्रदेश कार्यालय काठमाडौंमा छ भने भर्खरै हामीले नेपालगञ्जमा शाखा सञ्चालनमा ल्याएका छौँ । दसैँलगत्तै हामी वीरगञ्ज, हेटौँडा, वुटवल र पोखरामा पहिलो चरण र दोस्रो चरणमा कावासोतीमा शाखा सञ्चालनमा ल्याउने छौँ ।
बीमा कम्पनीले गर्न नसकेको काम लघुबीमाले कसरी गर्न सक्छ ?
नेपालमा माइक्रो इन्स्योरेन्सको एकदमै आवश्यकता छ । अहिले जे–जस्तो भइरहेको छ, त्यसले हुँदैन । मध्यम वर्गीय भन्दा माथिका व्यक्तिहरू मात्र संलग्न छन् । तर, वास्तवमा इन्स्योरेन्स चाहिने भनेको तल्लो तहका मानिसहरूलाई हो, जसलाई एकदमै आवश्यक हुन्छ । जसले धेरै पैसा तिर्न सक्दैनन्, निम्न आय भएका व्यक्ति र परिवारलाई नै माइक्रो इन्स्योरेन्सको आवश्यकता छ । त्यसका लागि हामी एकदमै तल्लो तह, पिछडिएका वर्ग र समुदायमा इन्स्योरेन्स सेवा पुर्याउनेगरी आएका छौँ, बीमा सेवाका लागि तयार छौँ । पूर्ण डिजिटल रूपमा, एकदमै कम कष्टमा, बढी बीमा सेवा प्रदान गर्ने छौँ । ठूला बीमा कम्पनी सीमान्तकृत वर्गमा पुग्न सक्दैन त्यसैले लघु बीमा आएको हो ।
सरकारले माइक्रो इन्स्योरेन्सलाई के सहयोग गनुपर्छ ?
सरकारले माइक्रो इन्स्योरेन्सलाई पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । लघुबीमालाई भ्याट छुट गर्यो भने प्रिमियम मूल्यमा कम हुने थियो । भ्याट छुट दिँदा हामीलाई होइन ग्राहकलाई फाइदा हुने हो त्यसैले यो क्षेत्रमा सरकारले सहयोग गर्नुपर्ने देखिन्छ ।
अन्य लघु बीमा कम्पनीहरूसँग कसरी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?
अहिले अन्य माइक्रो इन्स्योरेन्स कम्पनीहरू पनि आउँदै छन् । तर, हामी प्रतिस्पर्धामा जाँदैनौँ । किनभने हामीले बिजनेश प्रमोशन गर्नुछ, हाम्रो टार्गेट छुट्टै प्रकारका छन् । पुराना ठूला कम्पनी र हाम्रो टार्गेट गुप्र नै धेरै फरक छ । हाम्रो प्रतिस्पर्धा अहिले भइरहेका कम्पनीहरूसँग पनि होइन, नयाँ आउने माइक्रो इन्स्योरेन्ससँग पनि होइन । हामी आ–आफ्नै ढंगले अगाडि जाने हो । बीमा क्षेत्र एक आपसमा सहकार्य र समन्वय नगरी अघि बढ्नै सक्दैन । हामीले एकता र सहकार्यको भावसहित यस क्षेत्रमा केही नयाँ देखाउन खोजिरहेका छौँ । इन्स्योरेन्स कम्पनी एक आपसमा प्रतिस्पर्धा गरेर बीमा डाइनेष्टी अघि बढ्दैन, त्यसैले एक आपसमा सल्लाह गरेर, समन्वय गरेर अघि बढ्छौँ । प्रतिस्पर्धा भन्दा पनि लक्षित वर्गसम्म बीमा सेवा पुर्याउने हाम्रो मुख्य उद्देश्य हो । हामीले ग्राहक अवस्था हेरेर काम गर्नु पर्ने हुन्छ । हाम्रा लागि हामी सर्भे गर्दै छौँ । अन्य कम्पनीले दिन नसकेको बीमा हामी दिने छौँ । यसका लागि म र मेरो कम्पनी अग्रसर भइरहेको छ ।
तपाइँ यसअघि कृषि विकास बैंकमा कार्यरत हुनुहुन्थ्यो, त्यहाँ हुँदाको अनुभव यहाँ कसरी लागू गर्न सकिएला ?
बैंक र बीमाको फ्युजन गर्नु पर्ने जरुरी छ । बैंक र बीमा दुवै वित्तीय संस्था हो । हामीले बैंकले गरेको बीमा पनि गर्ने सक्छौँ । मैले कृषि विकास बैंकमा २८ वर्ष काम गर्दा कृषि क्षेत्रको केही ज्ञान आर्जन गरेको छु । त्यसलाई म आवद्ध संस्था नेपाल माइक्रो इन्स्योरेन्समा देखाउने छु । कृषकलाई चाहिएको बीमा मैले बुझेको छु ।
FACEBOOK COMMENTS