काठमाडौं । वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरेका छन् । जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका हुन् ।
यसअनुसार जेठ महिनामा वैशाखको तुलनामा वाणिज्य बैंकहरूको ब्याजदर औसतमा सामान्य घटेको छ ।
वाणिज्य बैंकहरूको औसत ब्याजदर वैशाखको तुलनामा जेठ महिनामा ०.०२७५ प्रतिशतले घटेको छ । वैशाख महिनामा ५.९७९५ प्रतिशतविन्दु रहेका बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर जेठ महिनामा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ ।
जेठ महिनामा २० वाणिज्य बैंकहरूमध्ये १४ बैंकहरूले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, बाँकी ६ वटा मध्ये ३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन् ।
जेठ महिनाका लागि ब्याजदर घटाएका बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ र कुमारी बैंक छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी १ प्रतिशत ब्याजदर घटाएको छ । वैशाख महिनामा ६.५ प्रतिशत रहेको यस बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर जेठमा ५.५ प्रतिशतमा झरेको छ ।
त्यस्तै, सिद्धार्थ बैकले यस्तो निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएको छ भने कुमारी बैंकले ०.०१ प्रतिशतविन्दु घटाएको छ । जेठ महिनाका लागि सिद्धार्थ बैंकले ५.७५ प्रतिशत र कुमारी बैंकले ५.९१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । वैशाख महिनामा सिद्धार्थ बैंकको यस्तो ब्याजदर ६ प्रतिशत रहेको थियो भने कुमारी बैंकको ५.९२ प्रतिशत थियो ।
वैशाखको तुलनामा सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएका छन् । जसमध्ये सानिमा बैंकले सबैभन्दा बढी ०.३८ प्रतिशतविन्दु बढाएको छ ।
सानिमा बैंकले जेठ महिनाका लागि ६.३३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । वैशाख महिनामा यो बैंकले व्यक्तिगत मुद्दती खाताका लागि ५.९५ प्रतिशत ब्याज तोकेको थियो ।
त्यस्तै, जेठ महिनाका लागि एभरेष्ट बैंकले ०.०३ प्रतिशतले ब्याजदर बढाएर ६.६४ प्रतिशत कायम गरेको छ । वैशाख महिनामा बैंकको यस्तो ब्याजदर ६.६१ प्रतिशत रहेको थियो ।
नेपाल बैंक लिमिटेडले पनि वैशाखको तुलनामा जेठ महिनामा ०.३ प्रतिशतले ब्याजदर बढाएको छ । यो बैंकको वैशाख महिनामा ५.१५ प्रतिशत रहेको यस्तो ब्याजदर जेठ महिनाका लागि ५.४५ प्रतिशत तोकिएको छ ।
जेठ महिनाका लागि हिमालयन बैंकको ब्याजदर ५.५ प्रतिशत, नेपाल एसबीआई बैंकको ५.५ प्रतिशत, कृषि विकास बैंकको ५.५१ प्रतिशत र सिटिजन्स बैंकको ५.६५ प्रतिशत तोकिएको छ ।
त्यस्तै, नबिल बैंकले जेठ महिनाका लागि ५.७५ प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकको ५.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत, माछापुच्छ्रे बैंकको ६ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत, ग्लोबल आईएमई बैंकको ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत, एनआईसी एशिया बैंकको ६.६ प्रतिशत र एनएमबी बैंकको ६.६ प्रतिशत ब्याजदर निर्धाण भएको छ ।
FACEBOOK COMMENTS