काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर वृद्धिमा गरेको कडाइको दोस्रो सातामै नबिल बैंकले तीन महिने मुद्दती निक्षेपमा ९.३६ प्रतिशत दिने घोषणा गरेको छ ।
दुई दिनअघि नबिलले आकर्षक ब्याजदर दिने घोषणा गरेपछि अन्य बैंक पनि निक्षेपको ब्याजदर वृद्धि गर्न बाध्य हुने बैंकरहरू बताउँछन् । कात्तिकको सुरुआतीसँगै केही बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेपछि राष्ट्र बैंकले ब्याजदर घटाउन भनेको थियो ।
राष्ट्र बैंकको निर्देशनपछि ब्याजदर घटाएर एकल अंकमा झारिएको थियो । तर पुनः ब्याजदर वृद्धि गर्न थालिएपछि तरलतामा परेको चाप कायमै रहेको पुष्टि हुने बैंकर बताउँछन् ।
बैंकरहरूका अनुसार कोरोना महामारीका कारण करिब एक वर्षसम्म लगानी हुन नसकेको कर्जा अहिले आएर माग हुने क्रम निकै बढेको छ। ‘अहिले नै विभिन्न वस्तुको आयात वृद्धि तथा रेमिटेन्समा गिरावट आउँदाको असरले पनि तरलता अभाव भइरहेको छ,’ ती बैंकरले नागरिकसँग भने, ‘यस्तो अवस्थामा सरकारले पुँजीगत खर्च पनि बढाउन सकेको छैन ।’
नेपाल बैंकर्स संघका अनुसार केही महिनायता निक्षेप संकलनको तुलनामा कर्जा लगानी अधिक भइरहेको छ । संघले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कात्तिक ५ सम्म बैंकहरूको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रूपैयाँ छ ।

त्यस्तै, सोही अवधिसम्म (कात्तिक ५) तिनै बैंकहहरूको निक्षेप ४२ खर्ब ४९ अर्ब रूपैयाँ छ । पछिल्लो एक सातामा बैंकहरूको निक्षेप उल्टै करिब २० अर्ब रूपैयाँले घटेको छ। असोज मसान्तसम्म बैंकहरूको निक्षेप ४२ खर्ब ६९ अर्ब रूपैयाँ थियो। संघको पछिल्लो तथ्यांकले तरलता अभाव अझै बढ्ने अनुमान गरिएको छ । कोरोना महामारीअघिसम्म दसैं, तिहारपछि सुरु भएर आर्थिक वर्षको अन्त्यमा सहज हुने तरलता अभाव यसपटक अलि छिट्टै देखिएपछि सरकारी संयन्त्र गम्भीर हुनुपर्ने बैंकरहरूको भनाइ छ। यस अवधिमा रेमिटेन्स आप्रवाह पनि घट्दै गएको छ ।

राष्ट्र बैंकको ताजा जानकारी अनुसार चालु आर्थिक वर्षको दुई महिनामा रेमिटेन्स एक खर्ब ५५ अर्ब ३७ करोड रूपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनमा ६।३ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ५।८ प्रतिशतले कमी आई १ एक अर्ब ३१ करोड रहेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २।६ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीपछि कैयौ गन्तव्य मुलुकबाट मागपत्र नआउँदा वैदेशिक रोजगारी सुस्ताएको छ। हालसम्म श्रम स्वीकृति जारी भएको आधारमा सबभन्दा ठूलो गन्तव्य मानिएको मलेसिया रोजगारी कोराना महामारी सुरु भएपछि ठप्प छ। अधिकारीहरूले मलेसिया रोजगारी अझै सुरु हुन समय लाग्ने बताएका छन्। त्यस्तै, कोरिया रोजगारी पनि सुरु भएको छैन।
संयुक्त अरब इमिरेट्स, कतार लगायत अन्य गन्तव्य मुलुकबाट महामारीको बेला मागपत्र आए पनि संख्या निकै थोरै रहेको व्यवसायीको भनाइ छ। राष्ट्र बैंकका अनुसार गत साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने बढेर ३८ हजार चार सय ९२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि समीक्षा अवधिमा वृद्धि भई २२ हजार नौ सय ७६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६।५ प्रतिशतले घटेको थियो। विस्तारै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि अर्को वर्षदेखि पुनः रेमिटेन्स वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्ष हालसम्मकै उच्च नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको दुई महिनामा शोधनान्तर घाटा ८३ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ। मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी भएपछि यस्तो अवस्था आउँछ। दुई महिनामा शोधनान्तर घाटा बढ्नाले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव सिर्जना गरेको हुन सक्ने कतिपयको भनाइ छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड रूपैयाँले बचतमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।