काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले स्वाधीनताको लडाइँमा आफूहरू एमालेसँग एउटै मोर्चामा रहेको बताएका छन्।
शनिबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विप्लवले एमालेमाथि भयानक प्रहार भएको अवस्थामा स्वाधीनताको लडाइँमा भने आफूहरू पनि ऊसँग एउटै मोर्चामा रहेको बताएका हुन् ।
’एमालेमाथि अलि बढी नै हमला भएको छ। हमला हुनुकको एउटै कारण छ। एमालेले राष्ट्रिय स्वाधिनताको पक्षमा अडान राख्दै आएको छ,’ उनले भने, ’ त्यसलाई हामी जहाँ बसे पनि, हामी प्रतिबन्धमा भए पनि, खुला भए पनि स्वाधीनताको लडाइँ चलेको अवस्थामा हामी एउटै मोर्चामा उभिएको अनुभूति हुन्छ।’
पछिल्लो परिस्थितिबीच एमालेमाथि धेरै प्रश्नहरू रहे पनि आज उसले ती प्रश्नका जबाफ दिएको विप्लवको भनाइ छ ।
’नेकपा एमाले कहाँ उभिएको छ भन्ने प्रश्नको रूपमा थियो। एमालेले कसरी जबाफ दिन्छ भन्ने कुरा जनतामा जिज्ञासा थियो। यो मैदानमा एउटा जबाफ नेपाली जनताले पाएको अनुभूति हामी सबैलाई भएको छ,’ उनले भने । उनले एमालेमाथि भयंकर हमला भएको तर ऊमाथि प्रश्न पनि रहेको बताए ।
’त्यो हामीले देखिरहेका हुन्छौं। हामीले छलफल पनि गरिरहेका छौं। आजको दिनमा पनि कमजोरीहरूबाट सिक्नै पर्छ। रूपान्तरण पनि हुनै पर्छ। तर कुनै पनि मूल्यमा हामीलाई साम्राज्यवादीहरूको हैकम स्वीकार्य छैंन,’ उनले भने ।

FACEBOOK COMMENTS