काठमाडौं । आशिष भारती (रोनी) र वर्षा बस्नेतले बागमती अटोजिमखाना प्रतियोगिताकाे पुरुष र महिला तर्फको उपाधि हात पारेका छन् ।
बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजनमा मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजनामा शनिबार बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलमा सम्पन्न एकदिने अटोजिमखाना प्रतियोगितामा उनीहरुले च्याम्पियनको उपाधि जितेका हुन् ।
प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ६ जना गरी जम्मा २३ ड्राइभरले प्रतिस्पर्धा गरेका थिए । क्वालिफाइङ चरणबाट पुरुषतर्फ शीर्ष ८ जना ड्राइभर फाइनलमा पुगे भने महिलातर्फ सहभागी सबैजना फाइनल चरणसम्म पुगेका थिए ।
क्वालिफाइङ चरणमै उत्कृष्ट समय निकालेर अग्रस्थानमा रहेका आशिषले फाइनल चरणमा उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी पुरुषतर्फ राजकुमार कार्कीले दोस्रो र विप्लक श्रेष्ठले तेस्रो स्थानमा कायम गरे ।
महिला तर्फको वर्षा बस्नेतले उपाधि जितिन् । प्रारम्भिक चरणमा वर्षासँगै शीर्ष स्थानमा रहेकी विपाशा तामाङले दोस्रो स्थान हाँसिल गरिन्। महिला तर्फ ६ मध्ये २ जना ड्राइभरले फाइनल पूरा गर्न सकेनन् ।
विजेताहरुले नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेका छन् । पुरुष विजेता आशिषले नगद १ लाख रुपैयाँ पाए भने महिला विजेता वर्षाले ५० हजार प्राप्त गरिन् । पुरुष उपविजेता राजकुमारले पनि ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
विजेताहरुलाई यस वर्ष श्रीलंकाको कोलम्बो, ताइवान र भारतमा आयोजना हुने एसिया अटोजिमखाना प्रतियोगितामा सहभागी हुन अवसर दिइनेछ ।
नासा नेपालका अनुसार विजेताले प्राप्त नगद पुरस्कारलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि प्याकेज खर्चमा प्रयोग गरिनेछ ।
प्रतियोगिता अघि ललितपुरको रोयल टुलिप ग्वार्कोबाट सुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी, पनौती हुँदै बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा पुगेर टिडिएस (टाइम-डिस्ट्यान्स-स्पिड) मोटर र्याली सम्पन्न भएको थियो ।
अटोजिमखाना र टिडिएस र्यालीमा ३२ वटा गाडी र ७७ जना खेलाडी (ड्राईभर्स) को सहभागिता रहेको थियो । साथै १८ जना दक्ष मार्शलहरु पिन परिचालन गरिएका थिए ।
महिला सशक्तिकरण, ड्राइभ टुरिजम र एड्भेन्चर मोटर स्पोर्ट्स प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा बागमती प्रदेश खेलकुद विकास परिषदले आर्थिक सहयोग गरेको थियो भने नेपाल अटोमोबाइल्स एसोसिएसनले प्राविधिक स्वीकृति र सहयोग गरेकाे थियो ।
विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रामचन्द्र श्रेष्ठ, एफआईए वर्ल्ड काउन्सिलका सदस्य गोविन्द भट्टराई, नेपाल अटोमोबाइल्स एसोसिएसनका सचिव महेश अधिकारी, कोषाध्यक्ष मनि नेपाल, सह-कोषाध्यक्ष कमला क्षेत्री, बागमती अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र सचिव यज्ञप्रसाद पौडेल तथा मोटोभर्स स्पोर्ट्स क्लबका अध्यक्ष आशिष रौनियार लगायतले पुरस्कार वितरण गरेका थिए ।
FACEBOOK COMMENTS