काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् ।
प्रतिनिधिसभामा आज सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताएका हुन् ।
उनले लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरू तयार भएका, सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विभिन्न क्षेत्रका १ सय ५० भन्दा बढी आयोजनाहरू प्रस्तुत गरिएको, १९ वटा परियोजनाको इओआई आह्वान गरिएको तथा परियोजना बैंकलाई अध्यावधिक गरिएको जानकारी दिए ।
निजी क्षेत्रका छाता संगठनहरूको समेत सहआयोजनामा सम्पन्न सम्मेलनले निजी क्षेत्रको मनोबल वृद्धि भएको तथा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लगायत विशिष्ट पदाधिकारी तथा स्वदेशी निजी क्षेत्रका संघ संगठनहरूले भेटघाट तथा छलफल गरेको उनको भनाइ थियो । बैठकमा सांसद् सुवालले वैशाख १६ र १७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनको उपलब्धिबारे प्रश्न सोधेका थिए ।
लगानी सम्मेलनबारे सांसद प्रेम सुवाल र अर्थमन्त्रीबीचको प्रश्न–उत्तर यस्तो थियो–
प्रश्न १ः बि.सं. २०८१ बैशाख १६ र १७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनको उपलब्धि के कति भयो ? सरकारले पढेलेखेका र शारीरिक तन्दुरुस्त युवालाई वैदेशिक रोजगारीमा पठाउने र बाँकी भएकालाई थप शोषण गराउन विदेशी लगानी ल्याउने उचित हो र ? विदेशी लगानीसँगै विदेशी सेना आउने र देश उपनिवेश हुनेबारे सरकारलाई जानकारी छैन र ?
उत्तरः लगानी सम्मेलनको सन्दर्भमा लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरू तयार भएका, सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिव २५०० अतिथिहरूको सहभागिता रहेको, सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विभिन्न क्षेत्रका १५० भन्दा बढी आयोजनाहरू प्रस्तुत गरिएको, १९ वटा परियोजनाको भ्इक्ष् आव्हान गरिएको, परियोजना बैंकलाई अध्यावधिक गरिएको, अन्तराष्ट्रिय जगतमा नेपाललाई उत्कृष्ट लगानी गन्तव्यको रूपमा प्रस्तुत गरिएको, निजी क्षेत्रका छाता संगठनहरूको समेत सहआयोजनामा सम्मेलन सम्पन्न भएको र निजी क्षेत्रको मनोबल बृद्धि भएको, सम्माननीय प्रधानमन्त्री, माननीय अर्थमन्त्री, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लगायत विशिष्ट पदाधिकारीसँग सम्भावित विदेशी लगानीकर्ताहरूसँग प्रत्यक्ष भेटघाट कार्यक्रम आयोजना गरिएको, विदेशी लगानी कर्ता तथा स्वदेशी निजी क्षेत्रका संघ संगठनहरू बीच भेटघाट तथा छलफल विदेशी लगानीको लागि उपयुक्त आधार रहेको सन्देश गएको ।
FACEBOOK COMMENTS