काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धीकरण अभियान सुरू गर्ने उद्घोष गरेका छन् ।
आज शनिबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धीकरण अभियान सुरू गर्ने बताएका हुन् ।
उनले सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको बताउँदै भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बीचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै आफूहरुले त्यसको अन्त्य गर्ने घोषणा गरे ।
अर्थमन्त्री पुनले नजिक र टाढाको नभनी दोषीउपर कारबाही गरिने दृढता व्यक्त गर्दै भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको र सुशासनका लागि राज्यका निकायहरुमा शुद्धीकरण अभियान चलाइने स्पष्ट पारे ।
अर्थमन्त्री पुनले सरकारले नियामक निकायहरुलाई बलियो बनाउने पनि बताएका छन् । स्वस्थकर कुराहरु मात्रै बिक्रीवितरण हुनुपर्ने भन्दै अस्वस्थ कुराहरुको बिक्रीवितरण हुन नदिन राज्यले ध्यान पुर्याउने विश्वास उनले व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS