काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकता नदेखाएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै पुनले नैतिकता भन्ने विषय व्यक्तिले देखाउने कुरा भएको बताउँदै गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा नदिएको बताएका हुन् ।
उनले भने, ‘नैतिकताको विषय भन्ने कुरा स्वाभाविक रूपमा व्यक्तिको विषय हुन्छ, निजी हुन्छ । हामीहरू पार्टीहरूले, विपक्षीहरूले या आम जनताको तर्फबाट सम्बन्धित व्यक्तिलाई ध्यानाकर्षण गराउने र सुझाव दिने विषय हो । त्यसमा गृहमन्त्रीज्यूले राजीनामा नदिने तर बाँकी सरकारको तर्फबाट छानबिनका लागि तयार छौँ भनेर सरकारले प्रतिबद्धता गर्यो र ३० दिनभित्र आवश्यक संरचना तयार गरी छानबिनलाई अगाडि बढाउने प्रतिबद्धता आइसकेपछि हामी र एकीकृत समाजवादी लगायतका दल तयार भयौँ ।’
पुनले मुख्य कुरा छानबिन भएकाले त्यसका लागि सरकार तयार भएको रास्वपासँग पनि आफहरूले कुरा गरेको बताए पनि नमानेको बताए ।
भिजिट भिसा प्रकरणमा विगतदेखिकै छानबिन हुनुपर्छ भन्ने कुरामा जिम्मेवार प्रतिपक्षको हिसाबले प्रतिबद्ध रहेको बताउँदै पुनले सरकार छानबिनका लागि तयार हुनु महत्त्वपूर्ण कुरा भएको बताए ।
साथै, पुनले दुईबुँदे सहमतिमा अग्नि सापकोटाको विषयमा लेनदेन गरेको आरोपको खण्डन गर्दै यो विषयमा कुनै सरोकार नभएको स्पष्ट गरे ।
FACEBOOK COMMENTS