काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।
शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हाे ।
आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए ।
तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।
हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
बढुवा भएपछि महानिरीक्षक धिरजप्रताप सिंहसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवा विवादरहित भएको भन्दै खुशी व्यक्त गरेका थिए ।
आन्तरिक शुद्धीकरण मेरो प्राथमिकता
कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् ।
विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उनले भने, ‘त्यसबाहेक संगठनभित्र आन्तरिक शुद्धीकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’
कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताए ।
उनले भने, ‘प्रहरीको आचरण र व्यवहारमा पनि शुद्धीकरण गरेर संगठनको छवि उचाल्ने काम मेरो कार्यकालमा हुनेछ ।’
FACEBOOK COMMENTS