काठमाडौं । अभिलेखमा सवारी चालकको ‘झुट्टा अनुमतिपत्र,’ प्रवेश गराएको अभियोगमा यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीनजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता भएको छ ।
अधिकृत थापासँगै तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङ, गलकोट नगरपालिका–२ का हिमबहादुर बस्नेत थापालाई प्रतिवादी कायम गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट बद्नियत पुष्टि भएपछि भ्रष्टाचारमा जेल र जरिबानाको माग राखेर विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
आपसी मिलेमतोमा बद्नियत राखी यातायात कार्यालयको अभिलेखमा बस्नेत थापाको नाममा ‘ए’ र ‘बी’ वर्गको पुरानो सवारी चालक अनुमतिपत्र नम्बर ‘डीएल ०८–४२४८२’ प्रविष्ट गराएर भ्रष्टाचार गरेको दाबी अख्तियारको छ । सोही आधारमा ०७८ साल चैत १५ गते झुट्टा विवरण राखेर चालक अनुमतिपत्रको प्रतिलिपि दिइएको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा सवारी चालक अनुमतिपत्र जारी नै नगरेको जानकारी हुँदाहुँदै विद्युतीय एवं कागजातका अभिलेखमा गैरकानुनी रूपमा सच्याउने, थपघट गर्ने र हेरफेर गरिएको तथ्य फेला परेको दाबी अख्तियारको छ ।
अख्तियारका अनुसार, बस्नेत थापाको नाममा ‘ए’ र ‘बी’ वर्गको झुट्टा सवारी चालक अनुमतिपत्र नम्बर ०१–०७–०१०३५२८० को विवरण प्रविष्ट गराइएको थियो । उक्त सवारी चालक अनुमतिपत्रको ‘इस्यु डेट’ २०५८/१२/२७ (सन् २००२–०४–०९) र ‘एक्स्पायर डेट’ २०७८/१२/२२ (सन् २०२२–०४–०५) उल्लेख गरिएको समेत अख्तियारको दाबी छ ।
