काठमाडौँ । सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् । शुक्रवार सार्वजनिक भएको प्रदेशसभाको अन्तिम मत परिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार उमेश थापालाई एक हजार तीन सय ५० मतान्तरले पराजित गरेका हुन् ।
बस्नेतले ११ हजार एक सय दुई तथा काँग्रेसका थापाले नौ हजार सात सय ५२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (१) मा कुल ३९ हजार सात सय १३ मत खसेकामा ३७ हजार नौ सय ४२ मत सदर भएको थियो ।
यसै गरी सुनसरी क्षेत्र नं २ प्रदेशसभा (१) मा एमालेका रेवतीरमण भण्डारी विजयी भएका छन् । उनले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर, माओवादी केन्द्रका द्वारिकालाल चौधरीलाई पराजित गरेका हुन् । भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्षसमेत छन् । भण्डारीले १४ हजार पाँच सय २८ तथा चौधरीले ११ हजार आठ सय ४५ मत प्राप्त गरेका छन् । दुवैजना बीच दुई हजार छ सय ८३ मतान्तर रहेको छ ।
FACEBOOK COMMENTS