काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो। आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।
सोही अवधिमा पुरीले रु. २ करोड २४ लाख ८१ हजार ६९० बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध रु. १ करोड ४ लाख ३ हजार ९४१ बराबरको बिगो दाबी गरिएको छ। आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको छ।
सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ। आयोगले सिर्जनालाई समेत प्रतिवादी कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।