काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पानोरा डकुमेन्ट्रीमा आफ्नो भाषण सम्पादन गरेको बीबीसीलाई कानुनी कारवाही गर्ने बताएका छन् ।
बिबिसीले यस प्रकरणमा माफी मागेपनि ट्रम्पले कानुनी कारबाही गर्ने बताएका हुन् ।
एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अर्को हप्ता बिबिसीलाई १ अर्ब देखि ५ अर्ब डलर सम्मको मुद्दा हाल्ने बताएका छन् । उनले यस विषयमा सप्ताहन्तमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग कुरा गर्ने समेत बताए ।
बीबीसीले यस अघि शुक्रबार विज्ञप्ति जारी गर्दै जनवरी ६, २०२१ को भाषणको सम्पादनले राष्ट्रपति ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक कारबाहीको लागि आह्वान गरेको गलत धारणा सिर्जना गरेको स्वीकार गरेको छ । बीबीसीले यस विषयमा माफी मागेको छ तर कुनै आर्थिक क्षतिपूर्ति प्रदान नगर्ने पनि बताएको छ ।
यस हप्ताको सुरुमा, ट्रम्पका वकिलहरूले बीबीसीलाई आफ्नो बयान फिर्ता लिएन, माफी मागेन र क्षतिपूर्ति प्रदान गरेन भने, उनीहरूले १ अर्ब डलर क्षतिपूर्तिको लागि मुद्दा हाल्ने चेतावनी दिएका थिए ।
यस विवादले गत आइतबार बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

ट्रम्पले २०२१ को जनवरी ६ मा वाशिंगटन डीसीमा भाषणमा– ’हामी क्यापिटलमा जाने छौं, र हामी हाम्रा बहादुर सिनेटरहरू, कांग्रेसीहरू र महिलाहरूलाई हौसला प्रदान गर्नेछौं ।’ यद्यपि, बिबिसीको पानोरामा वृतचित्रमा सम्पादन गरेर उनलाई यसो भन्दै देखाइएको थियो – ’हामी क्यापिटलमा जानेछौं… र म त्यहाँ तपाईंसँगै हुनेछु । र हामी लड्छौं । हामी ज्यान लगाएर लड्छौं ।’

FACEBOOK COMMENTS