काठमाडौं । डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल जोहेरी मोलाले ’मिस वल्र्ड २०२६’ (विश्व सुन्दरी) को उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङ सहरमा शनिबार साँझ आयोजित ७३औँ मिस वल्र्ड प्रतियोगितामा उनले यो उपाधि आफ्नो नाममा पारेकी हुन्।
यो जितसँगै डोमिनिकन रिपब्लिकले दोस्रो पटक मिस वल्र्डको ताज हात पारेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो पटक यो ताज जितेकी थिइन्।
विश्वभरका १११ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै जोहेरी विजेता बनेकी हुन्। उनलाई गत वर्षकी विजेता ओपल सुचाताले ७३औँ मिस वल्र्ड विजेताको ताज पहिर्याइदिएकी हुन् ।
प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेनेस अलाबर्न प्रथम उपविजेता (फस्र्ट रनर–अप) बनिन् भने मलेसियाकी तानुसिया चेट्टी दोस्रो उपविजेता (सेकेन्ड रनर–अप) हुनुका साथै ’ब्युटी विथ अ पर्पोज’ विधाकी विजेता घोषित भइन्।
प्रतियोगिताको अन्तिम ६ मा इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका सुन्दरीहरू पुग्न सफल भएका थिए।

को हुन जोहेरी मोला ?
सांस्कृतिक तथा सामाजिक कार्यमा सक्रिय २४ वर्षीया जोहेरी मोला सान्तो दोमिङ्गोकी बासिन्दा हुन्। उनी पेसाले शिक्षिका, पत्रकार तथा सामाजिक अभियानकर्ता हुन्। उनले युनिभर्सिडाड इबेरोअमेरिकानाबाट व्यावसायिक व्यवस्थापन र प्रशासनमा स्नातक गरेकी छन्। उनी विद्यालयहरूमा साहित्य र सामाजिक अध्ययन अध्यापन गराउँछिन्।
मोलाले आफ्नै समुदायका बालबालिका र युवाहरूलाई अंग्रेजी भाषा शिक्षामा पहुँच बढाउने उद्देश्यले ’भोइसेज अफ टुमारो’ नामक सामाजिक संस्था स्थापना गरेकी छन्। मार्च २०२६ मा उनले युनिभिजनका लागि प्रत्यक्ष रिपोर्टरका रूपमा काम गरेकी थिइन्। मे २०२६ मा युनिसेफको टेलिथन कार्यक्रममा सहभागी भई बालबालिकाको सहयोगका लागि सञ्चालित अभियानमा महत्वपूर्ण योगदान दिएकी थिइन्।