काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कृषि प्राविधिक (चौथो तह)देखि प्रशासनतर्फ सह–व्यवस्थापक (आठौँ तह) सम्मका कर्मचारी माग गरेको छ ।
कम्पनीले आठौं तहमा प्रशासनतर्फ सह–व्यवस्थापक, सातौँ तहमा कानुन अधिकृत, छैठौँ तहमा सहायक व्यवस्थापक, पाँचौँ तहमा प्रशासन सहायक ‘क’, चौथो तहमा प्रशासन सहायक ‘ख’ र कृषि प्राविधिक ‘ख’ मा कर्मचारी माग गरेको हो ।
लोक सेवा आयोगबाट प्राप्त सहमति तथा कम्पनीको कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली, २०७४ (पहिलो संशोधन २०७८ सहित) को विनियम ६ बमोजिम आन्तरिक तथा खुला÷समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ ।
तोकिएको योग्यता पूरा गरेका उम्मेदवारहरूले कम्पनीको अनलाइन दरखास्त प्रणालीबाट आगामी जेठ १० गतेसम्ममा आवेदन दिनु पर्ने छ । रीत नपुगी र म्याद नाघी पर्न आएको दरखास्तउपर कुनै कारबाही नहुने पनि कम्पनीले स्पष्ट गरेको छ ।
के–के चाहिन्छ आवश्यक न्यूनतम योग्यता ?
आ. प्र. तर्फको पदका लागि विनियमावलीको विनियम २७ बमोजिमको योग्यता पूरा भएको हुनुपर्ने छ भने खुलातर्फको पदका लागि विनियमावलीको विनियम १५ बमोजिम हुनुपर्ने छ ।
प्रशासन, कानुन अधिकृतः मान्यताप्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको ।
प्रशासन, सहायक व्यवस्थापकः मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बीमा, अर्थशास्त्र, विज्ञान, कृषि तथा पशु विज्ञान, तथ्याङ्कशास्त्र, कानुन वा सूचना प्रविधिमध्ये कुनै एक विषयमा कम्तीमा स्नातकोत्तर तह वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरह उत्तीर्ण गरेको ।
प्रशासन, सहायक ‘क’: मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, विज्ञान, कृषि तथा पशु विज्ञान, तथ्याङ्कशास्त्र, कानुन, सूचना प्रविधि वा बीमामध्ये कुनै एक विषयमा स्नातक तह उत्तीर्ण गरेको ।
प्रशासन, सहायक ‘ख’: मान्यताप्राप्त शिक्षण संस्थाबाट लेखा वा सूचना प्रविधि मुख्य विषय लिई १०+२ वा सो सरह उत्तीर्ण गरेको ।
कृषि प्राविधिक ‘ख’: मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा एस.इ.इ. उत्तीर्ण गरी न्यूनतम १ वर्षे जेटिए (कृषि विज्ञान) तालिम प्राप्त वा कृषि विषय लिई टि. एस.एल.सी. उत्तीर्ण गरी बीमाको क्षेत्रमा कार्य गरेको ।
FACEBOOK COMMENTS