काठमाडौं । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलवार (आज) बाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।
भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महीनामा लागू हुने कानूनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुँदै छ । मंगलवार नै समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदै छ ।
ऐनको व्यवस्थाअनुसार हाल कायम समितिका अध्यक्षलगायत सञ्चालकहरूले स्वतः प्राधिकरण सञ्चालकमा निरन्तरता पाउनेछन् । यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारबाहीको दायित्व पनि स्वतः प्राधिकरणमा सर्नेछ । नयाँ ऐन कार्यान्वयनसँगै बीमाक्षेत्रमा नयाँ युगको शुरुआत हुने समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘२०४९ सालको ऐनले बीमाक्षेत्रको नवीनतम विकासलाई समेट्न सकेको छैन,’ उनले भने, ‘नयाँ ऐनले बीमामा भएका नयाँ परिवर्तनलाई आत्मसात गरेको छ ।’ ऐनमा बीमाक्षेत्रको नियमनका लागि स्वायत्त र शक्तिशाली प्राधिकरण र अधिकारप्राप्त अध्यक्षको व्यवस्था भएकाले अहिलेभन्दा छिटोछरितो तथा प्रभावकारी काम हुने उनले दाबी गरे ।
ऐनमा ग्रामीण क्षेत्रका साथै गरीब र विपन्न वर्गमा बीमाको पहुँच बढाउन बीमा विकास कोषको व्यवस्था गरिएको छ । सरकारलगायतको योगदानका अतिरिक्त कम्पनीहरूले प्राधिकरणलाई नियमनबापत बुझाउने शुल्कको १ तिहाइ रकम राख्ने व्यवस्था गरिएको कोषबाट गरीब तथा विपन्न वर्गको बीमा गर्न तथा बीमाको विकासमा खर्च गर्न सकिने व्यवस्था छ ।
ऐनले बीमा कम्पनीहरूले बुझाउनुपर्ने नियमन शुल्क पनि घटाएको छ । हाल कम्पनीहरूले वार्षिक कुल प्रिमियमको शून्य दशमलव ७५ प्रतिशत रकम नियमन शुल्क बुझाउँदै आएकोमा अब शून्य दशमलव ५० प्रतिशतमात्र कायम भएको छ । ऐनमा प्राधिकरणले गर्ने आम्दानीबाट सबै खर्च बेहोरेपछि बाँकी रहेको रकमबाट ५० प्रतिशत संघीय सरकारको सञ्चित कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । यस्तै प्राधिकरणले कर्मचारी नियुक्ति र कर्मचारीको सेवासुविधाको निर्णयका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS