काठमाडौं। वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सुरु गरिएको छ।
बुधबार प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको सुरुवात गरेका छन्।
इजरायलमा रहेकी मन्जु थपलिया वैदेशिक रोजगारदाताको रुपमा कोषमा आबद्ध हुने पहिलो भएकी छिन्।
वैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीहरुलाई कोषमा ल्याउने योजना रहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए।

‘श्रमिकले मासिक २ हजार २ रुपैयाँ कोषमा बचत गरे पुग्छ। ७ सय कोषमा हुन्छ। अरु रकम सबै बैंकमा बचत हुन्छ। २०४६ सालदेखि अहिलेसम्म ३० अर्ब रुपैयाँ कोषमा संकलन भइसकेको छ। कोषले ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ,’उनले भने।


७० लाख नेपाली व्यवसाय रहेकोमा १० लाख मात्रै अहिलेसम्म कोषमा आबद्ध भएको तथ्यांक छ।
ज्ञवालीले ४ वर्षभित्र सबै वैदेशिक रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लक्ष्य रहेको बताए। यसका लागि कोषले गर्नुपर्ने सबै काम र योजनाहरु तदारुकताका साथ कार्यान्वयन गरिने उनको भनाइ छ।
गन्तव्य मुलुकसँग समेत कुरा गरेर सबै वैदेशिक रोजगारदातालाई कोषमा ल्याउने तयारी सरकारको छ।
अनलाइनबाट श्रम स्वीकृत लिँदानै कोषमा पनि आबद्ध हुन सकिने उनको भनाइ छ।
यस्तै, वैशाख १ गतेबाट अनौपचारिक रुपमा स्वरोजगार रहेका रोजगारदाताका लागि पनि यो कोषमा आबद्ध हुने कार्यविधि कार्यान्वयन हुने उनले बताए।