काठमाडौँ । लमजुङ तनहुँ जोड्ने डुम्रे बेँसीसहर सडक पहिरोले अवरुद्ध बनाएको छ ।
सोमबार साँझदेखि परेको अविरल वर्षाले यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ देउराली डाँडामा पहिरोले सोमबार राति सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले बताए ।
उनका अनुसार वैकल्पिक सडकका रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बन्दा काठमाडौँ, पोखरा, चितवन लगायतबाट बेँसीसहर आउँदै गरेका सवारी साधनका यात्रु अलपत्र परेका छन् ।
पानी परिरहेकाले पहिरो झरिरहेको छ ।
करिब तीन घण्टादेखि अविरल वर्षा भइरहेकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेमा सडक कटान गर्ने उच्च जोखिमसमेत रहेको छ ।
४२ किलोमिटरको यस सडकमा वर्खायाममा सवारी साधन तथा यात्रुहरुलाई निकै समस्या भइरहेको छ ।
FACEBOOK COMMENTS