काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई उत्कृष्ठ बैंक सेवा पुरस्कार प्रदान गरेको छ । बैंकको ५८ औं वाषिकोत्सवको अवसरमा गत माघ १० गते घोषणा गरिएका २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पुरस्कार वितरण गरेका हन् ।
कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ बैंक पुरस्कार २०७८/०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र ०७७/०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत २०७८/०७९ मा अन्य ३३ जना र २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने २०७८/०७९ मा शाखा कार्यालय बिराटनगर र २०७७/०७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ ।
त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने २०७८/०७९ मा १७ वटा शाखा र २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद १० हजारदेखि ३० हजारसम्म र प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ । साथै, कार्यक्रममा कर्मचारीहरुलाई बरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयाँ/नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्ण रुपले कार्य गर्नुपर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र दुर्गा कुमारी कँडेल, रावा बैंक कर्मचारी संघ नेपालका बरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो ।
यसका साथै नेपाल वित्तीय संस्था कर्मचारी संघ,रावा बैंकका अध्यक्ष इश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका उपाध्यक्ष जितेन्द्र राई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।
FACEBOOK COMMENTS