काठमाडौं । नेपालमा अनलाइनमार्फत सञ्चालन भइरहेका अवैध बेटिङ, सट्टेबाजी र जुवामाथि बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले कडा कारबाही अघि बढाएको छ।
सरकारले हालसम्म विभिन्न १३ वटा नेटवर्क सेवाप्रदायकमार्फत सञ्चालनमा रहेका २ लाख ४८ हजार ६ सय ७६ वटा अवैध बेटिङ वेबसाइट (डोमेन लिङ्क) तथा २६ वटा मोबाइल एप बन्द गराएको जनाएको छ।
सरकारले आफ्नो पहिलो सय दिनको कार्ययोजनाअन्तर्गत अनलाइन जुवा र बेटिङ नियन्त्रणलाई प्राथमिकतामा राख्दै चैत १४ गते सार्वजनिक गरिएको सय दिने कार्यसूचीमा २४ घण्टाभित्र यस्ता साइटहरू बन्द गर्ने घोषणा गरेको थियो।
सोही योजनाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाएर अवैध वेबसाइट र एपहरूमा नेपालभित्रबाट पहुँच रोकिएको जनाएको हो।
मन्त्रालयका अनुसार २०८२ चैत १५ गते नेपालभित्र सञ्चालन भइरहेका अवैध अनलाइन जुवा तथा बेटिङ गतिविधि नियन्त्रण गर्न प्राधिकरणलाई औपचारिक निर्देशन दिइएको थियो। त्यसपछि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक तथा मोबाइल सेवा प्रदायकलाई पत्राचार गर्दै त्यस्ता वेबसाइट र एपहरू ब्लक गर्न निर्देशन दिएको थियो।
सरकारले अवैध बेटिङ साइटहरू बन्द गराउने अभियानलाई निरन्तरता दिइने जनाएको छ। सञ्चार मन्त्रालयले यस्ता वेबसाइट र एपहरूको नियमित अनुगमन गरी आवश्यक कारबाही गरिने उल्लेख गर्दै इन्टरनेट सेवा प्रदायकहरूलाई नयाँ अवैध डोमेन पहिचान गरी तत्काल बन्द गराउन निरन्तर निर्देशन दिइरहेको जानकारी दिएको छ।
सरकारका अनुसार अनलाइन बेटिङका कारण ठूलो परिमाणमा रकम विदेशिने, आर्थिक अपराध बढ्ने तथा सामाजिक विकृति फैलिने जोखिम बढेकाले यस्तो कदम चालिएको हो।
नेपालको प्रचलित कानूनअनुसार अनलाइन जुवा, सट्टेबाजी तथा बेटिङ अवैध मानिन्छ। सरकारले सर्वसाधारणलाई यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गर्दै, अवैध वेबसाइट वा एप सञ्चालन भइरहेको जानकारी पाएमा नेपाल दूरसञ्चार प्राधिकरण वा सम्बन्धित निकायलाई जानकारी गराउन अपिल गरेको छ।