उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त अधिराज्यका राजदूत फेनको शिष्टाचार भेट
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                 कर्पोरट खबर                              
                                                      
                          
                               3:07 pm, शुक्रबार, भदौ १५, २०८०
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               3:07 pm, शुक्रबार, भदौ १५, २०८०  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष  पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिएका छन्।
उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकामा आभार व्यक्त गर्दै २ देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको छ बताए । ६ दशकको लामो राजनीतिक सङ्घर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासका माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको उनले बताए ।  यसका लागि नेपालका विकास साझेदारको सहयोग महत्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने भएकाले यसलाई दिगो बनाउन मैत्रीराष्ट्रको सहयोग थप महत्वपूर्ण हुने उनले बताए ।
राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको जनाउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे। सामाजिक न्याय, महिला हिंसाविरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुञ्जेल प्राचीनकालदेखि २ देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाएका छन् ।
सो अवसरमा राजदूत फेनले मैत्री सन्धि भएको सय वर्ष पुगेकामा आफूलाई गर्व लागेको र दुई देशबीचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्भाव रहेको र उक्त सद्भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो ।
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS