काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन भएका छन् ।
संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको महासंघले महाधिवेशन आयोजक कमिटी घोषणा गर्दै संयोजकको जिम्मा सापकोटालाई दिएको हो ।
व्यवसायी सापकोटा पार्टी संगठन विस्तारमा काविलका साथै उद्योगी व्यवसायीका समस्या बुझेर सरकारसँग लविङ गर्न सक्ने व्यक्ति हुन् ।
नेकपा एमालेको उद्योगी व्यवसायीहरूको भ्रातृ संगठनको रूपमा रहेको महासंघमा सापकोटा यसअघि महासचिव रहेका थिए । यसैगरी महासंघको महासचिवमा बालकृष्ण सिवाकोटी चयन भएका छन् । उनी यसअघि सोही महासंघको उपाध्यक्ष रहेका थिए । यस्तै कोषाध्यक्षमा डीमप्रकाश पौडेल चयन भएका छन् । उनी यसअघि महासंघका लेखा आयोग संयोजक रहेका थिए ।
देशको बिग्रदो अर्थतन्त्र सुधारका साथै उद्योगी व्यवसायीका समस्या समाधानका लागि पहल गर्न एमालले सापकोटाको संयोजकत्वमा उक्त आयोजक कमिटी गठन गरेको बताइएको छ । उनको संयोजकत्वमा २१ सदस्यीय सचिवलाय समेत गठन भएको छ भने महासंघको पाँचौं केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरूलाई आयोजक समितिमा राखिएको छ । साथै, लगातार ती पटक केन्द्रीय कमिटी बैठकमा नआउने केन्द्रीय सदस्यहरूलाई संस्थाको विधान अनुसार पदबाट हटाइएको छ ।
यसैगरी, महासंघको केन्द्रीय कार्यसमिति बैठकले विधान मस्यौदा समिति समेत चयन गरेको छ । महासंघका तत्कालीन उपाध्यक्ष डेकनाथ गौतमको संयोजकत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो ।
कार्यक्रममा एमाले जनसंगठन इन्चार्ज एवम् पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले नयाँ बनेको आयोजक समितिले उद्योगी व्यवसायीको समस्या समाधानमा पलह गर्नुका साथै पार्टीको नीति निर्देशन भित्र रहेर समयमै संस्थाको महाधिवेशन गराउनुपर्ने बताए ।
यसैगरी, संयोजक भएसँगै सापकोटाले अहिलेको विषम परिस्थितमा व्यवसायीका समस्या समाधान गर्न पार्टीदेखि सरकारसँग लविङ गर्नुपर्ने जिम्मेवारी आफूकहाँ आएको बताए । ‘मैले अहिले पनि पनि महासंघमा रहेर संगठन विस्तारदेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अग्रसर भएर काम गर्दै आएको छु,’ उनले भने, ‘अब यो आयोजक कमिटीले अहिले देखिएको उद्योगी व्यवसायीका समस्या समाधान गर्दै तोकिएको समयभित्र महासंघको अधिवेशन गर्नेछ ।’
गुल्मीमा जन्मिएका भागिरथ सापकोटा वि.सं. २०६० सालदेखि उद्योग व्यवसायमा संलग्न छन् । सानै उमेरमा गुल्मीबाट नवलपुर बसाईं सरेका उनी लामो समयदेखि नेकपा (एमाले) अन्तर्गतका विभिन्न कमिटीहरूमा रहेर जिम्मेवारी बहन गरिसकेका व्यक्ति हुन् ।
विद्यार्थी कालदेखि नै राजनीतिमा जोडिएका सापकोटा अनेरास्ववियु केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी प्राप्त भएसँगै काठमाडौं प्रवेश गरेका थिए । बदलिँदो परिवेशमा राजनीतिमा संलग्न व्यक्ति नियमित आम्दानीमूलक क्षेत्रमा पनि जोडिनुपर्छ, जसबाट आफ्नो नियमित आयस्रोतको भरपर्दो माध्यम बन्न सक्छ र उद्यमशीलता प्रवर्द्धनलाई समेत सहयोग पुग्छ भन्ने मान्यताले आफू व्यवसायमा संलग्न भएको सापकोटा बताउँछन् ।
व्यावसायिक रूपमा ट्राभल तथा टुर्स व्यवसायमा संलग्न उनी गोचली टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक हुन् । हाल सापकोटाले आफ्नो कम्पनी मातहत करिब एक दर्जन व्यक्तिलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् ।
FACEBOOK COMMENTS