काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशपछि एक स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने र निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । भक्तपुर–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका आनन्द कार्की (राजीव) ले यस्तो घोषणा गरेका हुन् ।
कार्की एक दशकभन्दा बढि समयदेखि राजसंस्था पुनस्र्थापनको अभियानमा सक्रिय छन् । हालै राजाको सम्वोधनमा सहमतिय प्रक्रियाबाट अगाडि बढेर मात्र निर्वाचन गर्नुपर्ने मनसाय व्यक्त गरिएको हुँदा उक्त सम्बोधनप्रति सम्मान जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनले बताएका छन् ।
उम्मेदवारी फिर्ता र निर्वाचन बहिष्कार गर्ने निर्णय लिएको भन्दै उनले निर्वाचन आयोगलाई हिजो पत्र पठाएका थिए । कार्कीले राप्रपालाई कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजाको आदेश नमान्ने दल होइन, म निर्दलीय उम्मेदवार हुँ ।’
२०७९ को चुनावदेखि अहिलेसम्म आफ्नो प्रमुख लक्ष्य र एजेन्डा भनेको राजाकै शासनको माग रहेको उनको भनाइ छ । ४१ वर्षिय कार्कीले २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवारी दिएर ८२ भोट ल्याएका थिए ।


FACEBOOK COMMENTS