काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक भक्तपुरको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट एमालेका महेश बस्नेतको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
भक्तपुर २ संसदीय निर्वाचन क्षेत्रमा सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका समावेश गरिएको छ । सूर्यविनायक नगरपालिकामा १० वडा रहेका छन् भने मध्यपुर थिमी नगरपालिकामा ९ वटा वडा रहेका छन् ।
भक्तपुर(२ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ९८ हजार ३५६ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा ११४ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दुर्लभ थापा विजयी भएका थिए । उनले २४ हजार २३९ मत प्राप्त गर्दै एमालेका महेश बस्नेतलाई पराजित गरेका थिए । बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले ७ हजार १२७ मत प्राप्त गरेकी थिइन् भने रास्वपाका साजन विकले ४ हजार ९८ मत प्राप्त गरेका थिए ।

त्यस्तै समानुपातिक तर्फ २०७९ मा नेकपा एमालेले १७ हजार ८७६ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १४ हजार ८९४ मत प्राप्त गरेको थियो । त्यसैगरी रास्वपाले ११ हजार ८९६ मत प्राप्त गरेको थियो भने मजदुर किसान पार्टीले ७ हजार ८६३ मत प्राप्त गरेको थियो ।

उम्मेदवार

भक्तपुर(२ बाट यस पटक पनि नेकपा एमालेका सचिव महेश बस्नेत उम्मेदवार बनेका छन् भने नेपाली काँग्रेसबाट कविर राणा, नेकपाबाट राम प्रसाद सापकोटा र रास्वपाबाट राजीव खत्री उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट विक्रम थापा उम्मेदवार बनेका छन् भने नेपाल मजदुर किसान पार्टीबाट रमेश बैद्य उम्मेदवार बनेका छन् । यस क्षेत्रमा दल र स्वत्रन्त्र गरी कुल ३२ उम्मेदवार रहेका छन् ।

निष्कर्ष

जेनजी आन्दोलनपछि बालुवाटारबाट लखेटिएका तत्कालिन प्रधानमन्त्री केपी ओलीको अहिलेसम्मको पुनरागमन गराउने एक मात्र प्रमुख पात्र महेश बस्नेत यस क्षेत्रबाट उम्मेदवार बनेकाले आम रुपमा उनले जित्छन् या जित्दैनन भन्ने चासो छ । उनले ओली र एमालेलाई लगाएको गुनको पुरस्कार पार्टी सचिव बनेर पाइसकेका छन् । अब उनी चुनाव जितेर एमाले सरकारको मन्त्री बन्न चाहेको बताईपनि रहेका छन् ।
यस क्षेत्रमा बस्नेतलाई काँग्रेसका कविर राणा र रास्वपाका राजीव खत्रीले चुनौती दिएका छन् । अघिल्लो चुनाव जितेको हुनाले काँग्रेस बस्नेतका लागि पहिलो स्वाभाविक चुनौती हो । भने अहिले देशभर देखिएको परिवर्तनको माहोलले रास्वपालाई कमजोर प्रतिद्वन्दी मान्न सकिन्न । त्यसैले यस क्षेत्रमा त्रिपक्षीय भिडन्त स्पष्ट रुपमा देखिएको छ । त्यस्तै यस क्षेत्रमा मजदुर किसान पार्टी र राप्रपाको मत पनि सम्मानजनक नै छ । त्यसैले उनीहरुले प्राप्त गर्ने मत पनि बस्नेत, राणा वा खत्रीको जितमा महत्वपूर्ण हुनसक्ने देखिन्छ ।
FACEBOOK COMMENTS