कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आज धनगढीमा आयोजना गरेको विशेष सभामा उनले देशको सन्तुलित विकासका लागि लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधार गरेको उल्लेख गरे ।
सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएकाले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, सडक र यातायातको विकासलगायत विषयलाई उच्च प्राथमिकता दिइएको उनको भनाइ थियो ।
“आर्थिक विकासका लागि औद्योगिक विकास जरुरी छ, उत्पादन र उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर नीतिगत सुधार गर्दै आएका छौँ”, उनले भने । मन्त्री भण्डारीले सरकारले उद्योगको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न विभिन्न नीतिगत कार्यक्रमको प्रयास थालेको बताए ।
देशमा महत्तवपूर्ण राष्ट्रिय गौरवका आयोजनाको कामले गति लिइरहेको बताउँदै उनले सरकारले रोजगारी सृजनाका अवसरहरूलाई पनि प्राथमिकतामा राखेको बताए ।
राजनीतिक अस्थिरताका कारण देशमा विकास निर्माणका कामले गति लिन नसकेकाले राजनीतिक स्थिरता र विकास निर्माण गर्न दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको उनको भनाइ थियो । उनले दोधरा–चाँदनी सुक्खा बन्दरगाह स्थापना भइसकेको उल्लेख गर्दै गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम अन्तिम चरणमा पुगेको बताए ।
FACEBOOK COMMENTS