काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छिन् । साथै उनले दुवै देशले गरेको विकासबाट अधिकभन्दा अधिक मुलुकले लाभ उठाउनुपर्ने बताइन ।
जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले लामो राजनीतिक सङ्क्रमणपछि मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त सफलताको आधार जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शन भएको बताइन् । मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि जबज आज पनि उत्तिकै सान्दर्भिक भएको उनको कथन थियो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जनताको बहुदलीय जनवादले परिकल्पना गरेको नेपाली ‘मोडल’को समाजवाद भएको बताए । उनले पार्टी जीवनको लोकतान्त्रिकीकरण जबजको एउटा अभिन्न अङ्ग भएकाे बताए ।
त्यस अवसरमा यो वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गरिएको थियो । एक लाख राशिको सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभएको हो ।
FACEBOOK COMMENTS