काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोड रूपैयाँको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड रूपैयाँ घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोड रूपैयाँको आयात र एक खर्ब २७ अर्ब २० करोड रूपैयाँको निर्यात भएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कुल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापार घाटा छ दशमलव २० प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।
सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा चार खर्ब ९८ अर्ब ३४ करोड रूपैयाँ व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट पाँच खर्ब ९६ अर्ब ३५ करोड रूपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७५ करोड रूपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, चीनसँगको व्यापार घाटा एक खर्ब ९० अर्ब ४४ करोड रूपैयाँ बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट एक खर्ब ९२ अर्ब ४५ करोड रूपैयाँको वस्तु आयात हुँदा दुई अर्ब रूपैयाँको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ ।
नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानिस्तानसँग छ । अफगानिस्तानसँग सात महिनामा एक करोड २४ लाख रूपैयाँको आयात र ५९ करोड ४५ लाख रूपैयाँको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरूसँग व्यापार नाफा बढी रहेको छ ।
विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाख रूपैयाँको डिजेल, २४ अर्ब ५८ करोड ३२ लाख रूपैयाँको पेट्रोल र छ अर्ब ६१ करोड ६५ लाख रूपैयाँको एलपी ग्यास आयात भएको छ । त्यस्तै, पाँच अर्ब ५० करोड ९० लाख रूपैयाँ बराबरको विद्युतीय सवारीसाधन र पाँच अर्ब ४३ करोड ४१ लाख रूपैयाँको अन्य सवारीसाधन आयात भएको छ । सात महिनामा तीन अर्ब ५३ करोड ९७ लाख रूपैयाँ बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड ५७ लाख रूपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, छ अर्ब ५७ करोड ६७ लाख रूपैयाँको सूर्यमुखी तेल, पाँच अर्ब ३८ करोड ८० लाख रूपैयाँको अलैँची, तीन अर्ब ८९ करोड ५२ लाख रूपैयाँको कार्पेट, तीन अर्ब १० करोड रूपैयाँको धागो र तीन अर्ब रूपैयाँ बराबरको चिया निर्यात भएको छ ।
FACEBOOK COMMENTS